काठमाण्डौ। राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित ६ जनाविरुद्ध मुद्दा चलाएको छ।

ती ६ जनामाथि ३ अर्ब ८२ करोड बिगोबराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाइएको हो। उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। 

काठमाण्डौ महानगरपालिका–१७ सोह्रखुट्टेमा रहेको हाइटेक इन्टरनेसनल प्रालि सञ्चालकसमेत दुईजनालाई राजश्व चुहावट गरेको अभियोगमा २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाएको छ। 

यस्तै ललितपुर महानगरपालिका–२ सानेपामा रहेको एसएस मोबाइल एन्ड सर्भिसेज प्रालि र श्रीश्याम इम्पेक्स तथा श्रीश्याम बाबा इन्टरप्राइजेजका सञ्चालक तथा मुख्य कारोवारीसमेत गरी चारजनाविरुद्धसमेत बुधबारै कर छलीको आरोपमा मुद्दा चलाइएको छ। उनीहरुविरुद्ध १ अर्ब ३९ करोड ७ लाख रुपैयाँ बिगो कायम गरी उक्त बिगो असुल तथा जरिवाना र कैद सजायको माग गरिएको छ।