काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन्। उनले नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताए। 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा काठमाण्डौको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकको जीवन परिवर्तमानमा समेत सहकारीको भूमिका रहेको बताए। सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई उनले आग्रह गरे। ‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ’, उनले भने, ‘दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’

सहकारी अभियानप्रति सरकार सकारात्मक रहेकासमेत खाँणले स्पष्ट पारे। 

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताए। सहकारीहरुले  अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उनले आग्रह गरे। 

आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुनेसमेत पण्डितको भनाइ थियो। ‘एउटा सहकारीको कारण सबै सहकारी बदनामी हुनुपर्ने अवस्था नआओस्’, उनले भने। 

हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न पण्डितले आग्रह गरे। सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेको धारणा थियो।