काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजी क्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताएका छन्। 

‘अहिले तीनवटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन’, सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाइराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाइदिन पर्यो नि।’

उदाहरणका लागि एउटा कम्पनी दर्ता गर्न करिब ३ दर्जन सरकारी निकायमा पुगेर हात जोड्दै हिँड्नुपर्ने अवस्था रहेको श्रेष्ठको भनाइ थियो। ‘हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक व्यवस्था बदल्यौँ तर राजनीति र कर्मचारीतन्त्रमा परिवर्तन आएन’, उनले भने, ‘हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्यौँ तर हाम्रो कर्मचारीमा तन्त्रको काम गर्ने शैली पञ्चायतकालीन नै छ।’ 

कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारी तन्त्रको कार्यशैली बदलिने भन्दै श्रेष्ठले भने, ‘तर, नेपालमा कुनै पनि कार्यशैलीमा परिवर्तन आएन।’ 

उद्योगी–व्यवसायीले अहिले पनि राजा महेन्द्रको पालाको २०१९ सालको कानुनको अधीनमा रहेर व्यापार–व्यवसाय गर्नुपरेको भन्दै श्रेष्ठले कालाबजारी ऐनजस्ता झन्झटिला कानुनहरु तत्काल परिवर्तन गरिनुपर्नेमा जोड दिए। ‘हामीले अहिले बैंकविरुद्ध आन्दोलनमा छौँ तर हाम्रा लागि त्योभन्दा ठूलो समस्या नीतिनियममा देखिएका समस्या हुन्’, उनले भने, ‘अहिले नियामक निकायले बैंकहरुलाई विना लगाम छाडिदिँदा समस्या आएको छ त्यसमा सरकार र राष्ट्र बैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ।’ 

सरकार र राष्ट्र बैंकले चाहेको खण्डमा अहिले देखिएको उच्च व्याजदर घटाउन सक्ने भन्दै श्रेष्ठले त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नुपर्ने बताए। 

श्रेष्ठले सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने धारणा पनि राखे। ‘जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकासमा लगानी गर्न आह्वान गर्दैन तबसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन,’ उनले भने, ‘अहिले सरकारले हामी निजी क्षेत्रलाई निचोरेर भए पनि कर उठाउने काम गरेको भन्दै यसतर्फ सरकारले विशेष ध्यानदिनु आवश्यक छ।’

राजनीतिक घरानामा जन्मिए पनि आफ्नो एउटै मूलमन्त्र उद्योग–व्यवसाय सञ्चालन गर्दै देशलाई आर्थिक रुपमा सक्षम बनाउने भएको भन्दै श्रेष्ठले व्यवसायीका समस्या समाधान गर्न पुनः महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा अघि बढेको जानकारी दिए। ‘अहिले महासंघ केन्द्र र जिल्ला नगरबीच त्यतिधेरै समन्वय भएको देख्दिन भने जिल्लाका समस्यालाई केन्द्रले चासो नदिएको आभास भएको छ’, उनले भने, ‘महासंघलाई सबै तहका उद्योगी–व्यवसायी पुर्याएर राज्यसँग लविङ गरेर व्यवसायीको मसस्या समाधान गर्न मेरो ध्यान केन्द्रित हुनेछ।’ 

यसका साथै अहिलेको विषम परिस्थितिमा महासंघको नेतृत्व लिन आएको भन्दै अब हुने वरिष्ठ उपाध्यक्षका लागि आफूलाई मत दिएर निर्वाचित गराउनसमेत श्रेष्ठले आग्रह गरे।