पाकिस्तानको बलुचिस्तान राज्यस्थित क्वेटामा बसोबास गर्ने रासिद, इलियास र सोएबलाई अचम्मको रोग छ । सूर्यास्त हुनेबित्तिकै उनीहरूको शरीरले अचानक काम गर्न बन्द हुन्छ । क्वेटाभन्दा १५ किमि टाढा मियाँकुन्डी गाउँमा बसोबास गरिरहेका यी तीन जना दाजुभाइलाई लागेको रहस्यमय रोगका कारण पाकिस्तानका चिकित्सकहरू छक्क मात्रै छैनन्, उपचार गर्न नसकेर हैरानसमेत भएका छन् ।

सोएब एक वर्षका भए । उनलाई त अचानक हातगोडाले किन काम गर्दैनन् भन्ने पनि थाहा छैन । ९ वर्षका रासिद र १३ वर्षे इलियासलाई भने यो तनाव झेलिसकेका छन् र हरेक रात मर्ने अवस्थाबाट गुज्रनु पर्दा पीडामा छन् ।क्वेटाको एउटा आइटी युनिभर्सिटीमा सुरक्षा गार्डका रुपमा काम गर्ने हासिमका लागि सूर्योदयको ठूलो अर्थ छ । उनी चाँडै सूर्योदय होस् भनी हरेक दिन कामना गर्छन् । किनभने सूर्योदयसँगै उनका तीन छोरा 'ब्युँतन्छन्' ।

पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका चान्सलर डाक्टर जावेद अक्रम भन्छन्, 'यस्तो त संसारमै सुनिएको थिएन ।' पाकिस्तानी अखबार डनसँग कुरा गर्दै उनले भने, 'मेडिकल साइन्सका लागि यो विषय रहस्यमय कुरा नै भयो ।' यी तीन बालक सूर्यास्त हुनेबित्तिकै आलसतालस हुन्थे र लगभग मरेतुल्य हुन्थे । तिनका बुवा हासिम भन्छन्, 'गाउँलेहरूले मेरा केटाहरूको नाउँ नै सौर्यऊर्जा राखिदिएका छन् ।'

२७ पाकिस्तानी र १३ अन्तर्राष्ट्रिय चिकित्सकहरूको एउटा टोलीले यी बालकहरूको अवस्थामा शोध गरिरहेका छन् । तर यो रोग नै के हो भन्ने कुरा नबुझेर ती शोधकर्ता हैरान छन् । जुन दिन अलि ढिलासम्म सूर्य निस्कँदैन, तिनीहरू ब्युँतन पनि समय लाग्छ । जुन दिन राम्रोसँग घाम लाग्छ, तीनै बच्चाको दिनचर्या सामान्य बन्छ ।

हासिम भन्छन्, 'मेरा छोरा घाम लागेका बेला क्रिकेट खेलिरहेको देख्दा अपार खुसी लाग्छ । ठूलो छोरोले त आमालाई काममा सघाउँछ पनि । तर घाम लागुञ्जेल मात्र ।' छोराहरूको अवस्थाका बारेमा कुरा गर्न थाल्यो कि तिनकी आमाको आँखाबाट आँशु तप्प चुहिन थालिहाल्छ । छोराको अवस्थाबारे हासिम भन्छन्, 'भोलिपल्ट बिहान छोराहरू अचानक नउठिदिने पो हुन् कि भन्ने पीरले मन कटकटी खान्छ ।'

बीबीसी हिन्दीबाट