– अनन्त्य सुन्दर

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ। झन्डै ३२०० पुगेको नेप्से परिसूचक आज झन्डै ४८.७३ अंकले घटेर २३०७.४४ को विन्दुमा बन्द भएको छ। त्यस्तै २०–२२ अर्ब कारोबार रकम हुने गरेको बजार खुम्चेर डेढ–दुई अर्बमा सीमित बनेको छ।

निरन्तर घट्न थालेसँगै सक्रिय लगानीकर्ताहरु पनि सेयर बजारप्रति आकर्षित नभएको देखिन्छ। बजार जानकारहरु बढ्दो ब्याजदर र तरलता चापले बजारलाई प्रभाव पारेको बताउँदै आएका छन्।

सेयर बजारमा अहिले नवप्रवेशी लगानीकर्ताको संख्या ठूलो छ। डिम्याट खाताहरु लिनेहरुको संख्या ५१ लाख माथि छ। त्यस्तै अनलाइन टीएमएस लिनेहरुको संख्या झन्डै १५ लाख हाराहारी पुगेको अवस्था छ।

निरन्तर बढ्दो क्रममा रहेको बजारको एकाएक ओरालो यात्रा सुरु भएसँगै नयाँ लगानीकर्ताहरुमा अब के गर्ने ? कस्तो लगानी रणनीति अपनाउने ? कस्तो कम्पनीमा लगानी गर्ने ? लगायतको अन्यौलता भएको देखिन्छ। बजारका नयाँ लगानीकर्ताको अन्यौलताका विषयमा हामीले बजारकी सक्रिय लगानीकर्ताका साथै नेपाली पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलसँग कुराकानी गरेका छौँ। 

पोख्रेलको विचारमा निरन्तर बढ्दो क्रममा रहेको बजार घटाउने काम नेपाल धितोपत्र बोर्डले नै सुरु गरेको हो। ‘बोर्डलाई बजार बढ्नेबित्तिकै विज्ञप्ति निकाल्न हतार हुन्छ’, उनी भन्छिन्, ‘आगोमा घ्यू थप्ने काम अर्को नियामक नेपाल राष्ट्र बैंकबाट सुरु भयो। सेयर धितो कर्जामा कडाइ, ४–१२ को क्याप, सेयर बजारमैत्री नीति नल्याउने, बजारमा राजनीतिक ठाडो हस्तक्षेपले गर्दा बजारलाई प्रत्यक्ष प्रभाव पर्यो।’

गभर्नर एउटा पार्टीको अर्थमन्त्री अर्को पार्टीको भएकाले बजारमा राजनीतिक हस्तक्षेप बढेको पोख्रेलको बुझाइ छ। ‘जसले गर्दा नियामकहरु नागरिकका साथै लगानीकर्ताको हितभन्दा पनि पार्टीको हिततर्फ केन्द्रित भए’, उनी भन्छिन्। 

बजारमा अहिले तरलता चापले गर्दा कर्जा मात्र नभएर आफूले राखेको डिपोजिट पनि नपाउने अवस्था रहेको पोख्रेल बताउँछिन्। ‘त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ’, उनी भनिछन्, ‘लगानी गर्दा नाफा नहुने तर घाटामात्र हुने भएकाले अहिले सेयर बजारमा लगानी गर्नेहरु नाफा हुने अन्य क्षेत्रतर्फ आकर्षित भएको पाइन्छ। कोरिया, कुवेत, जापानलगायतका मुलुकमा रहेका नेपालीका साथै नेपालमै रहेका नागरिकले क्रिप्टो, हाइपर फन्डलगायतमा लगानी गरेको पाइन्छ।’ 

बजारमा प्रवेश गर्नुअघि नै बजारको अवस्था, राजनीतिक अवस्था, अर्थतन्त्रलगायत अध्ययन गरेर लगानी गर्नुपर्ने पोख्रेल सुझाव दिन्छिन्। ‘नेपालको सेयर बजार यस्ता कुराहरुले बढी प्रभावित हुने गरेको छ तर अब बजार प्रवेश गरेका लगानीकर्तासँग थप लगानी गर्ने साथै धैर्य गर्नेबाहेक अन्य विकल्पहरु छैनन्’, उनले भनिन्। 

बजार घटेसँगै आफ्नो पोर्टफोलियोको अवस्था नाजुक भएको सुनाउँदै पोख्रेल भन्छिन्, ‘बजार घट्दा मेरो पनि पोर्टफोलियो घट्ने हो। त्यसैले अहिले मेरो पोर्टफोलियोको अवस्था पनि अरुको झैँ नाजुक नै छ।’

‘मैले लगानी गर्दा दीर्घकालीन लगानी गर्ने गरेको छु। त्यसका साथै बजारको ट्रेन्डअनुसार ट्रेड पनि गर्ने गरेको थिएँ’, पोख्रेलले भनिन्, ‘बजार निरन्तर घट्न सुरु गरेसँगै अहिले ट्रेड गर्ने पैसा पनि दीर्घकालीन लगानी गरेको छु।’

‘नेपाली सेयर बजार १८०० बाट ११०० मा आउँदा लगानीकर्ता प्यानिक भएको अवस्था थियो, त्यसबेला मेरै नेतृत्वमा लगानीकर्ताहरुले प्यानिक भएकाले मलमपट्टी लगाउनुपर्छ भनी बाम गठबन्धनको सरकारका साथै सरोकारवालाहरुसँग छलफल कार्यक्रम आयोजना गरेका थिए’, उनले भनिन्, ‘त्यसबेला लगानीकर्ताको समस्या सुनुवाइ भएको थियो। राज्य र नियामक निकाय बजारप्रति सकारात्मक छन् भन्ने मेसेज आमलगानीकर्ताहरुमा गएको थियो।’ अहिले भने ढिलो भइसकेको पोख्रेल बताउँछिन्। ‘त्यसैले बजार अहिले धेरैले घटेकाले लगानीकर्तालाई आश्वासन दिएरमात्र हुँदैन’, उनले भनिन्, ‘बजारलाई सकारात्मक प्रभाव पर्ने किसिमको ठोस निर्णयहरु गर्न आवश्यक छ।’

अन्य मुलुकमा सेयर बजारको समस्याको समाधानका लागि विज्ञ समिति गठन गरेर खोज अनुसन्धान गरिने गरेको पोख्रेलले सुनाइन्। ‘नेपालमा पनि विज्ञ टोलीहरुको समिति गठन गरेर सेयर बजारलाई प्रत्यक्ष असर गरेको तरलता, ब्याजदर, नीतिगत कुरा, लगानीकर्ताका मागहरु अध्ययन र अनुसन्धान गरी ठोस निर्णय गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ’, उनले भनिन्।