– अनन्त्य सुन्दर

काठमाण्डौ । हिन्दु धर्मावलम्बीहरूको महान चाड दसैँमा सेयर बजार पनि ९ दिनका लागि बन्द रहनेछ। दसैँको उपलक्षमा सेयर बजारका लगानीकर्ताको नयाँ ठाउँ घुम्नेदेखि साथीभाइ साथै परिवारजनसँग बसेर रमाइलो गर्ने सम्मको योजना रहेको छ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको यसपटकको दसैँमा भने काठमाण्डौमा नै बसेर चुनावी अभियानलाई निरन्तरता दिने योजना रहेको छ। उनले आउँदो प्रतिनिधिसभाको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

यस वर्षको दसैँमा त्यस्तो विशेष कार्यक्रम केही पनि नरहेको पोखरेल बताउँछिन्। ‘दसैँको बिदाका अवसरमा चुनावी घरदैलो अभियानलाई नै निरन्तरता दिन्छु’, उनी भन्छिन्।

आफूलाई दसैँ सहरमा भन्दा गाउँमा नै रमाइलो लाग्ने पोखरेल बताउँछिन्। ‘तर हामी सबै परिवारहरु काठमाण्डौमा नै भएकाले गाउँमा गएर दसैँ मनाउने अहिले कम भएको छ। पोहोरको दसैँमा भने चाहिँ धेरै वर्षपछि आफ्नो गाउँ (बर्दिबास) मा गएर मनाएको थिएँ’, उनी भनिछन्।

गाउँमा हुँदा दसैँ मनाएको पल सम्झिँदै पोखरेल भन्छिन्, ‘पहिला गाउँमा हुँदा दादादिदीहरु नेपालबाहिर भएकाले आउने भेटघाट गर्ने, पिङ खेल्ने साथै रमाइलो हुन्थ्यो। तर, अहिले पहिलोको जस्तो रौनक नै छैन।’

दसैँको समयमा काठमाडौँमा नै भइन्छ। काठमाडौँमा भएका साथीहरू पनि दसैँ मनाउन आआफ्नो गाउँ जानु हुन्छ। त्यसैले यहाँको दसैँ नै बोरिङ हुन्छ, उनले भनिन्।

आमलगानीकर्तालाई बडादसैँको शुभकामना दिँदै पोख्रेल भन्छिन्, ’लामो समयदेखि हामी प्यानिक अवस्थामा छौँ। आशा गरौँ दसैँपछि बजारमा हामीले सोचेभन्दा राम्रो माहौल सिर्जना हुनेछ।’