काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले झन्डै १५० प्रतिशतको हाराहारीमा हकप्रद निष्कासन गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बजार नयाँ १.४७५२ सेयरको अनुपातमा हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गर्ने निर्णय गरेको छ। कम्पनीले रु. १०० अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ। 

यो हकप्रद कम्पनीले हालै प्रस्ताव गरेको गत आर्थिक वर्षका लागि ३६.५ प्रतिशत बोनस सेयर वितरणपछि वृद्धि हुने चुक्तापुँजीको ६४ करोड ६४ लाख ४ हजार ६२२.५० रुपैयाँको १४७.५२ प्रतिशतबराबरको हुने कम्पनीले जनाएको छ। 

कम्पनीले आगामी वार्षिक साधारणसभाको मिति भने तय गरिसकेको छैन। कोरोना महामारीको स्थितिलाई ध्यानमा राखी यथाशीघ्र वार्षिक साधारणसभाको निर्णय गरिने कम्पनीले जनाएको छ।