काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कोभिड १९ बाट प्रभावित आफ्ना ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका कार्यक्रमहरु ल्याएको र सोही सन्दर्भमा राष्टबैंकले २०७८ जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्सहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ

'हाल कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थितिका कारण कर्जाका ग्राहकहरुको व्यवसायिक कारोबार बन्द रहेको तथा कर्मचारी र कामदारहरुको रोजगारी गुमेका कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ ।' बैंकले विज्ञप्तिमा भनेको छ-'यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँद्या ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने र तथा व्यवसायको निरन्तरता एवम् पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता र ब्याज बुझाउने कोभिड १९ बाट प्रभावित ग्राहकहरुलाई उनीहरुले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको बैंकको प्रष्टोक्ति छ ।' 

ब्याज रकममा छुटको सुविधाबाट बैंकका ७ प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ ।