काठमाण्डौ । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो । 

यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुद ब्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ । 

आ.व. २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी रु. ८ अर्ब २४ करोड (गत वर्ष रु. ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी रु. ९ अर्ब ७६ करोड (गत वर्ष रु. १० अर्ब ७० करोड), संचालन नाफा रु. ५ अर्ब ९ करोड (गत वर्ष रु. ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी रु. ६ अर्ब ३७ करोड (गत वर्ष रु. २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा रु. ४ अर्ब ५२ करोड (गत वर्ष रु.४४ करोड ७७ लाख) रहेको छ । 

यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा बैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट रु. १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ । आ.व. २०७७/७८ मा बैैंंकको शेयरधनी कोष रु. ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ ।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर  ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.४१.३२ रहेको छ ।

समीक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।