काठमाण्डौ । निजी क्षेत्रका बैंकहरुलाई समेत उछिन्दै नाफा तथा अन्य वित्तीय सूचकमा केही वर्ष नेतृत्व लिएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पछिल्लो समय भने कमजोर बन्दै गएको छ । 

पछिल्ला वर्ष तथा त्रैमासहरुमा यो बैंकका प्रमुख वित्तीय सूचकतर्फको प्रगति निकै सुस्त छ । कतिपय महत्वपूर्ण सूचक ओरालो लाग्न थालेका छन् । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा समेत बैंकका प्रमुख सूचकहरुतर्फको ओरालो यात्रा निरन्तर रह्यो । यो अवधिमा बैंकले २ अर्ब ६१ करोड मात्रै खूद नाफा कमायो । जब कि अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब २७ करोड बढी नाफा आर्जन गरेको थियो । 

बैंकको संचालन मुनाफातर्फ पनि पहिरो नै गएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको संचालन नाफा घटेर यो वर्ष ३ अर्ब ३७ करोडमा सीमित बन्न पुगेको छ। 

बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढे पनि ब्याज खर्च समेत अघिल्लो वर्षको तुलनामा अचाक्ली बढ्दा बैंकका धेरै वित्तीय सूचकमा प्रभाव परेको देखिन्छ । 

समीक्षा अवधिमा यो बैंकले १४ अर्ब बढी ब्याज आम्दानी गरे पनि ७ अर्ब ६८ करोड बढी ब्याज खर्च भएको छ । जसका कारण खूद ब्याज आम्दानी ६ अर्ब ३२ करोडमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिमा १२ अर्ब २५ करोड ब्याजबाट आम्दानी गरी ५ अर्ब ९० करोड मात्र खर्च गरेको थियो । 

अघिल्लो वर्षको तेश्रो त्रैमासमा ब्याजबाट प्राप्त आम्दानीमध्ये ४८ प्रतिशत ब्याज खर्च भएको थियो, अहिले भने ब्याज आम्दानीको ५५ प्रतिशत हाराहारीमा ब्याज खर्च भएको छ । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा ब्याज खर्च मात्रै ७ प्रतिशतले बढेको देखिन्छ । 

गत वर्ष १५ अर्ब ३ करोडमा सीमित बैंकको रिजर्ब यो वर्ष १६ अर्ब ४२ करोडको उचाईमा पुगेको छ भने गत वर्ष ३ अर्ब ४५ करोड रहेको रिटेन अर्निङ यो वर्ष घटेर १ अर्ब ५० करोडमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ४५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब बढी कर्जा परिचालन गरेको थियो । यसरी निक्षेप संकलनमै पहिलो गत वर्षको तुलनामा बैंक कमजोर बनेको देखिन्छ । समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८८.१७ प्रतिशत रहेको छ । ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्ने नियम मान्दा पनि बैंकले अझै लगानी गर्नसक्ने ठाउँ थियो, त्यसतर्फ ध्यान नदिइएको देखिन्छ । 

खूद नाफा तथा रिटेन अर्निङतर्फ पहिरो गएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ह्वात्तै घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ४७.४७ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष २९.२२ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

बैंकले समीक्षा अवधिमा खराब कर्जाको अनुपात सुधारमा भने प्रयास गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३.६२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ३.०७ प्रतिशत भएको हो।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ५.११ प्रतिशत, आधार दर ७.३१ प्रतिशत रहेको छ । 

नम्बर वान हुने लक्ष्यसहित अगाडि बढिरहेको बैंक पछिल्लो कालमा किन पछाडि पर्यो त ? यो प्रश्न हामीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई गरेका थियौं । उनले पछिल्लो समय मर्जरपछि केही बैंक ठूला भएका र कतिपय बैंक आक्रामक ढंगले व्यवसाय विस्तारमा लागेका कारण उनीहरुको ब्यालेन्ससिट बलियो बनेको, तर आफूहरुले प्रूडेन्ट बैंकिङ गरेका कारण समग्रमा तुलना गर्दा अवस्था केही कमजोर देखिएको बताए । ‘समग्रमा हेर्दा त हामी कमजोर नै भएको देखिन्छ ।’ उनले भने–‘तर मर्जरपछि ठूलो भएको ग्लोबल आइएमई बैंक, मर्जर गर्न लागेको नवील र आक्रामक व्यवसाय विस्तारमा लागेको एनआइसी एशियाबाहेकलाई हेर्दा समग्रमा हाम्रो अवस्था नराम्रो छैन ।’ 

उनले पछिल्लो समय प्रोभिजनिङ बढेका कारण र ब्याजबाट आम्दानी भए पनि ब्याज खर्च समेत ह्वात्तै बढ्दा समेत बैंकको नाफामा नकारात्मक प्रभाव परेको बताए ।