काठमाण्डौ । पतञ्जलीको रिटेलिङ साम्राज्यलाई अब अर्का एक आद्यात्मिक गुरुले टक्कर दिने तयारी थालेका छन् । आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर आयुर्वेदिक टुुथपेस्ट र साबुन बिक्रीका लागि भारतमा मात्रै १ हजार रिटेल स्टोर्स स्थापनाको तयारीमा जुटेका छन् । उनले नेपालमा मात्रै पहिलो चरणमा २ सय त्यस्ता स्टोर खोल्ने योजना बनाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

रविशंकरले क्लिनिक तथा ट्रीटमेन्ट सेन्टर स्थापनाको समेत तयारी थालेका छन् । योगगुरु रामदेवको पतञ्जली कम्पनीले पछिल्लो समय मल्टिनेशन कम्पनीहरुलाई टक्कर दिइरहेको छ । योगगुरुले तहल्का मच्चाइरहँदा उनलाई समेत टप्ने योजनामा रविशंकरले समेत आक्रामक विजिनेश प्लान बनाएका मिडियाहरुले स्रोतको हवाला दिंदै दाबी गरेका छन् । 

रविशंकरले सुरुवाती उत्पादनको रुपमा टुुथपेस्ट, डिटर्जेन्ट पाउडर, घिउ तथा कुकिज लिएर बजारमा उत्रने तयारी गरेका छन् । श्री श्री आयुर्वेद टस्टका प्रमुख कार्यकारी तेज कटपिटियाले भनेका छन्–‘मानिस अब आफ्नो दैनिक जीवनमा आयुर्वेदिक उत्पादनहरुलाई अपनाइरहेका छन् । हामीले ल्याउन लागेको ब्राण्ड हाल रहेका अन्य कम्पनी भन्दा अलग र दमदार हुनेछ ।’ उनका अनुसार उत्पादनहरुको लञ्चसँगै ‘श्री श्री तत्व’ नामका ब्राण्डेड स्टोरहरु समेत खोलिनेछ । यो कम्पनीले सन् २००३ देखि नै हेल्थ ड्रिङक्स, साबुन तथा मसला उत्पादन गर्दै आइरहेको छ । अब कम्पनी कयौं खाद्यान्न तथा घरायसी प्रयोजनका सामानहरुको उत्पादन गरी बजारमा आक्रामक ढंगले उत्रनेछ । कम्पनीले ३ सय भन्दा बढी यस्ता प्रोडक्टस उतार्नेछ । 

पतञ्जलीले एकदशकको बीचमा १० हजार करोड भारु बराबरको कम्पनी बनेपछि र यसको लोकप्रियता बढेपछि पछिल्लो समय मल्टिनेशन कम्पनीहरु समेत हर्बल प्रोडक्टतर्फ ध्यान मोड्न बाध्य छन् । पतञ्जलीको लोकप्रियताकै कारण हिन्दूस्तान युनिलिभरले हालै आयुर्वेदिक पर्सनल केयर प्रोडक्ट्सको रुपमा आयुुष ब्राण्ड फेरि लञ्च गरेको छ । डाबर कम्पनीले पहिला आयुर्वेदिक जेल टुुथपेस्ट डाबर रेड लञ्च गरिसकेको छ ।