काठमाण्डौ । सनराइज बैंक लिमिटेडले रामेछापको मन्थली नगरपालिका–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७ भुजिमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। 

यी दुवैसँगै अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६८ पुगेको छ। हिजो शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं. ११ का उपप्रमुख मायाकुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणि नेवारको उपस्थिति थियो। 
बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप संकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तान जस्ता सेवाहरु लिन सकिने जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ।

हालसम्म बैंकले १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।