काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहीबार क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेका छन्। प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पीओएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन्।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवतासम्बन्धी पुनित कार्यमा रक्तसञ्चार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे। 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ सेवा दिन बैंक सधैँ तत्पर रहेको र स्वास्थ्य उपचारका लागि सेवाग्राहीले अब नगद बाकेर हिँड्नु नपर्ने जानकारी बताए। 

वि.सं. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहको सभापतित्वमा सम्पन्न  कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। 

कार्यकममा पूर्वप्रहरी महानिरीक्षकहरु, अस्पतालका पूर्वमेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति थियो।