काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाइट (बत्ती) हस्तान्तरण गरेको छ। 

बैंकले निर्माण गरेको ट्राफिक लाइट सुन्धरास्थित नागस्थानमा शुक्रबारबाट एक कार्यक्रमका बीच सञ्चालनमा ल्याइएको छ। नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाण्डौ महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्विच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा वडाअध्यक्ष महर्जनले उपत्यकामा बढ्दै गईरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए। 

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने बताए। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रमको सञ्चालन विभागीय प्रमुख सरोज बस्नेतले गरेका थिए। 

कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरुलगायतको उपस्थिति  थियो।