काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा लकडाउन छिट्टै खुकुलो पारिने बताएका छन्।

ट्रम्पले 'देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको' बताए। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर 'उनीहरूले उपयुक्त ठानेका बेला' प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने बताए।

अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ अहिलेसम्मकै उच्च सङ्ख्यामा बेरोजगारहरू बढेका छन्।

राज्यका गभर्नरहरूसँग प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम सुचारू गर्ने समयका विषयमा ट्रम्पको गम्भीर मतभेद पाइन्छ। तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्यहरू खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ जसलाई राष्ट्रपतिले 'त्यो निकै रोमाञ्चक' हुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवाहरू थामिनसक्नु भएको बताए। आम्दानी ठप्प भएका बेला अहिले लागु पदार्थ दुर्व्यसनी समेत अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।

अमेरिकाले अहिलेसम्म झण्डै ३३ लाख कोभिड-१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झण्डै १ प्रतिशत हो। तर बुधवार लगातार दोस्रो दिन हालसम्मकै उच्च सङ्ख्यामा अमेरिकामा भाइरसबाट मृत्यु हुनेहरू पाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरसको उत्कर्ष पार गरिसकेको बताएका छन्। अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र सुचारु गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए। बुधवार नै यस भाइरसको सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या विश्वभर २० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको थियो।

नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे पुन: आफ्नो रोष पोखेका छन्। उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताए। "दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्," ट्रम्पले भने, "हेर्नुस् इटलीमा के भयो, हेर्नुस् स्पेनमा के भयो, हेर्नुस् फ्रान्समा के भयो।"

ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको भन्दै 'त्यो सायद उनीहरूले बोध गरिसकेको' बताए। – बीबीसी