काठमाण्डौ । विश्वभर केही दिनयता इजरायलको नाम चर्चाको शिखरमा रहेको छ । सन् १९४८ मा विश्व मानचित्रमा एउटा सानो यहुदी देशको रुपमा उदाएको यो देशले आफ्नो अस्तित्वका लागि बितेको ७० वर्षमा कयौँ लडाइहरु लडिसकेको छ । यी लडाइहले इजरायललाई विश्व जगतमा एउटा सवल राष्ट्रको रुपमा बलियो गरी उभ्याउन अहम् भूमिका खेलेका छन् । 

चारैतिरबाट मुस्लिम राष्ट्रहरुले घेरिएको यो एक मात्रै यहुदी राष्ट्रले सम्पूर्ण मध्यपूर्वी एशियामा आफ्नो दबदबा कायम राखेको छ । इजरायलको यो दबदबा र यो आत्मविश्वासका पछाडि सबैभन्दा ठूलो कारण उसको इन्टलीजेन्स एजेन्सी ‘मोसाद’ र विश्वभर फैलिएको उसको अति प्रभावशाली र निडर जासुसहरु हुन् । जो देशका लागि हाँस्दा–हाँस्दै आफ्नो ज्यान बलिदान दिन तयार रहने गर्दछन् । 

इजरायलको एक जासुसको कहानी
इजरायलको इतिहासमा इलि कोहेन नाम गरेका एकजना यस्ता जासुुस थिए, जसलाई ६० को दशकमा शत्रु राष्ट्र सिरियामा साधारण जासुसीका लागि पठाइएको थियो । तर एलीमा देशभक्तिको यस्तो नशा चढेको थियो कि उनले जासुसीको दुनियाँमा एकमाथि अर्को चमत्कार गरेका थिए । उनी सिरियाको सरकारमा यतिसम्म घुसेका थिए कि तत्कालीन राष्ट्रपति अमीन अल हफीज उनलाई आफ्नो रक्षामन्त्री बनाउन गइरहेका थिए । 

एली रक्षामन्त्री बने भने आफ्नो कार्यकालपश्चात एलीले नै देशको बागडोर सम्हाल्नेमा हफिज विश्वस्त थिए । तर सबै कहानीहरुको सुखद अन्त भने हँुदैन । एलीको मामिलामा पनि यस्तै भयो र उनी सन् १९६५ अप्रिलमा जासुसी गर्दागर्दै रंगेहात पक्राउ परे । सन् १९६५ मे १८ को रात दमिश्कको मरजेह स्क्वायरमा उनलाई खुलेआम फाँसी दिइयो । सिरियाली सरकारले अहिलेसम्म पनि उनको लाश इजरायललाई सुम्पिएको छैन । 

को थिए ऐली कोहेन, कसरी जिते मोसादको भरोसा ?
एली कोहेनले जुन देशका लागि आफ्नो ज्यान बलिदान दिए, वास्तवमा उनको त्यस देशमा जन्म भएको थिएन । एलीको जन्म सन् १९२४ मा छिमेकी देश इजिप्टको ऐलेग्जेन्ड्रियाको एक सिरियाली–यहुदी परिवारमा भएको थियो । एलीका बुुवा सन् १९१४ मा सिरियाको एलेप्पोबाट यहाँ आएर बसोबास गरेका थिए । 

सन् १९४८ मा जब इजरायलको स्थापना भयो तब इजिप्टका कयौँ यहुदी परिवार यहाँबाट बसाई सर्न लागे । १९४९ मा कोहेनका बुबाआमा र तीन भाईहरु पनि इजरायल गएर बसोबास गर्न लागे । तर इलेक्ट्रिोनिक्स अध्ययन गरिरहेका कोहेनले इजिप्टमा बसेर आफ्नो अध्ययन पूरा गर्ने निर्णय गरे । 

इजिप्टमा बसेर उनी यहुदी गतिविधिमा भाग लिन थाले । तथापी सन् १९५१ मा एक सैन्य कु पश्चात यहुदी विरोधी अभियान सुरु भयो र कोहेनलाई पक्राउ गरियो । तर इजिप्टले कोहेनका विरुद्ध आरोप साबित गर्न सकेन । यसपश्चात एलीले सन् १९५० को दशकमा इजरायलका लागि जासुसी अभियानमा भाग लिन थाले र सन् १९५७ मा इजरायल आएर बसोबास गर्न लागे । 

इजरायल आएपछि भयो विवाह, सिरिया जानका लागि यसरी छानिए
इजरायल फर्किएको दुुई वर्षपछि उनको विवाह नादियासँग भयो । सन् १९६० मा मोसादमा भर्ती हुनुुभन्दा पहिले उनले ट्रान्सलेटर र अकाउन्टेन्टको रुपमा काम गरे । मोसादका डाइरेक्टर जनरल मीर अमीतलाई सिरियामा घुसपैठ गर्नका लागि एक विशेष एजेन्टको खोजी थियो । एकदिन टेबलमा राखिएको रिजेक्टेड क्यान्डीटेडको सूचीमा उनले एलीको नाम देखे । 

एलीको बारेमा सम्पूर्ण जानकारी हासिल गरेपछि उनलाई एली नै सबैभन्दा योग्य पात्र लाग्यो । कोहेनलाई मोसादले तीन महिनाको कडा तालिम दियो र फिल्ड एजेन्ट बन्नका लागि सिफारिस पनि गर्यो । 

यसरी सुरु भयो सिरिया पठाउने काम
फिल्ड एजेन्टका रुपमा एलीको  सम्पूर्ण मिसन गोप्य रहनेवाला थियो । आफ्नी पत्नी नादियालाई उनले आफू रक्षा मन्त्रालयको फर्निचर खरिद गर्नका लागि विदेश जान लागेको बताएका थिए । इजरायलबाट बाहिरिएपछि एली सन् १९६१ मा अर्जेन्टिनाका ब्यूनोस ऐरेस पुुगेका थिए । जहाँ उनको नयाँ नामाकरण भयो–कामेल अमीन ताबेत । यसपश्चात यही नै उनको पहिचान बन्यो । योजनाअनुसार यहाँ उनले सिरियाली राजदुतावासको मिलिटिरी अटेच जनरल  अमीन अल हफीजसँग सम्बन्ध बनाए । 

उनले सिरियाबाट आएका आफ्ना बुवाआमाले अर्जेन्टिनामा कसरी व्यवसाय विस्तार गरे र अब उनीहरुको मृत्युपश्चात उनी सिरिया फर्कन चाहेको र आफ्नो सबै पैसा त्यहाँको विकासमा खर्च गर्न चाहेको बताए । तमाम कठिनाईबाट बच्दा–बच्दै उनी अन्त्यमा सिरिया पुुगे । 

सिरियाको प्रत्येक खबर इजरायल पठाउन सुरु गरे 
सिरिया पुुगेपश्चात उनले त्यहाँ आफ्नो सम्बन्ध एकदमै बलिया बनाए र त्यहाँको सानोभन्दा सानो खबर उनले रेडियो ट्रान्समिटरका माध्यमबाट  इजरायल पठाउन सुरु गरे । एलीको सम्बन्ध सिरियाका नेताहरुदेखि लिएर त्यहाँको सेनाका ठूला अफिसरसम्म विस्तार भएको थियो । 

सन् १९६३ मा जनरल अमीन अल हफीजको बाथ पार्टीले सत्ता कब्जा गर्यो । एलीले रातारात भएको यो सैनिक कु बाट ध्यान भड्काउनका लागि आफ्नो घरमा एउटा ठूलो र भव्य पाटी दिए । जुन पाटीमा रक्सीदेखि लिएर केटीहरुको व्यवस्था थियो । यो पाटीमा उनले सेनाका ठूला अफिसरदेखि लिएर मन्त्रीहरुसम्मलाई बोलाएका थिए । जब सबैको ध्यान मोजमस्तीमा थियो, तब एलीका साथी अमीन अल हफीज रातारात राष्ट्रपनि बने । 

एक–एक गरेर गरे सिरियाका षड्यन्त्रहरुको पर्दाफास
अब सिरियामा एलीले चाहेको सहयोगी सरकार थियो । एलीले कयौँ ठूला षड्यन्त्रहरु पत्ता लगाए । एलीले नै सिरियाले इजरायलको एक मात्र पानीको स्रोतका रुपमा रहेको सी अफ ग्लालीनीमा जाने दुुई नदिलाई कसरी अन्यत्र फर्काउने योजना बनाउँदैछ भनेर  इजरायललाई जानकारी दिए । इजरायलले दक्षिण सिरियामा चलिरहेको यो गोप्य तयारीलाई एअर स्ट्राइक गरेर एकै झट्कामा ध्वस्त गरिदियो । 

जब सिरियाका राष्ट्रपतिले गरे रक्षामन्त्री बन्ने अफर
निरन्तर प्राप्त भइरहेको असफलताबाट वाक्क भएर सिरियाका राष्ट्रपति अमीन अल हफीजले एली उर्फ कामेल अमीन ताबेतलाई सिरियाको रक्षामन्त्री बन्नका लागि अफर गरे । हफीजलाई सुुईको पनि थिएन कि जसलाई उनी रक्षामन्त्री बनाउन गइरहेका उनी नै सारा असफलताको जड हुन् भनेर । 

यसरी खुल्यो एली उर्फ कामेल अमीन ताबेतको राज
एली रक्षामन्त्री बन्नुुभन्दाअघि नै हफीजका रक्षा सल्लाहकारलाई भित्रकै कुनै व्यक्तिले जासुसी गरिरहेको छ भनेर आशंका लागेको थियो । सुुईदानीले सोभियत संघको सहयोगमा एउटा ट्रयाकिङ डिभाइस मगाए । जसले दमास्कसमा पसेर रेडिया ट्रान्समिसन पत्ता लगाउन सुरु गर्यो । २–३ दिनसम्म चलेको यो अपरेसनमा अन्तमा सुुइदानीलाई सफलता प्राप्त भयो । यसबाट जुन कामेल अमीन ताबेतमाथि सम्पूर्ण सिरियाले भरोसा गरेको थियो, उनी नै इजरायलको जासूस भएको पत्ता लाग्यो । सुइदानीले सम्पूर्ण तयारीका साथ एलीको घरमा धावा बोले र उनलाई रेडियो ट्रान्समिसन गर्दागर्दै सन् १९६५ अप्रिलमा पक्राउ गरियो । 

करीब एक महिनासम्म यातना दिएर उनलाई सन् १९६५ मे १८ मा दमास्कसको मरजेह स्क्वायरमा एलीलाई सार्वजनिक रुपमा फाँसी दिइयो । एलीको शवलाई चोकमा ८ घन्टासम्म झुन्डाएर राखिएको थियो र उनको शवमा मानिसहरुले जुत्ता चप्पल बर्साएका थिए । 

सिरियाका जवान लुकेको ठाउँ बारे जानकारी दिन रोप्न लगाए युकेलिप्टसका रुखहरु
इजरायल–सिरिया सिमानास्थित गोलेन हाइट्स रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण ठाउँ हो । यहाँ रहेका सिरियाली सेनाहरुको पोस्टहरु इजरायलका सेनाहरुले देख्न सक्दैनथे । यस्तोमा एलीले यो ठाउँका बारेमा इजरायलका सेनालाई जानकारी दिनका लागि युकेलिप्टसका रुखहरु रोप्न लगाए । उनले सिरियाली सेनालाई प्रचण्ड गर्मीबाट बचाउन रुख रोप्न लगाएको बताएका थिए । यी रुखहरु रोपिएपछि इजरायलका सेनाले सिरियाली सेनाका बारेमा जानकारी पाए र हमला गरे । आज गोलेन हाइट्सको दुुईतिहाई भन्दा धेरै भाग इजरायलको कब्जामा रहेको छ । 

-एजेन्सीहरुको सहयोगमा तयार रिपोर्ट