काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषमा शुक्रबार ठूलो संख्यामा विभिन्न पदका लागि भर्ना खुलेको छ ।

चौथो तहदेखि सातौँ तहसम्मका लागि बीमा कम्पनीमा ३४ र कोषमा १२ जनाका लागि जागिर खुलेको हो ।

बीमा कम्पनीमा सहायक ‘ख’ पदअन्तर्गत कृषि प्राविधिक २ र पशु प्राविधिक १ जना माग गरिएको छ । दुवै पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थाबाट सम्बन्धित विषयमा जेटीए वा सोसरह उत्तीर्ण हुनुपर्नेछ ।

त्यस्तै सहायक ‘ख’ पदका लागि १४ जनाका लागि दरखास्त खुलाइएको छ । यो पदका लागि लेखा वा सूचना प्रविधि मुख्य विषय लिई प्लस टुवा वा सोसरह उत्तीर्ण हुनुपर्नेछ ।

सहायक ‘क’ पदका लागि तीनजना माग गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्यांकशास्त्र, कानुन, सूचना प्रविधि वा बीमामध्ये कुनै एक विषयमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।

यसैगरी सूचना प्रविधि अधिकृत र सहायक पनि एक/एकजना माग गरिएको छ । अधिकृतका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र सहायकका लागि स्नातक उत्तीर्ण हुनुपर्नेछ ।

बीमा कम्पनीमै सहायक व्यवस्थापक पदका लागि ९ जना माग गरिएको छ । यो पदमा दरखास्त दिन व्यवस्थापन, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्यांकशास्त्र, कानुन, सूचना प्रविधि वा बीमामध्ये कुनै एक विषयमा स्नातकोत्तर वा चार्टड एकाउन्टेन्सी वा सोसरह उत्तीर्ण हुनुपर्नेछ । यसैगरी नायब व्यवस्थापक दुईजना माग गरिएको छ । यो पदका लागि पनि व्यवस्थापन, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्यांकशास्त्र, कानुन, सूचना प्रविधि वा बीमामध्ये कुनै एक विषयमा स्नातकोत्तर वा चाटर्ड एकाउन्टेन्सी उत्तीर्ण हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, रामशाहपथ काठमाण्डौमा दरखास्त बुझाउनुपर्नेछ । दरखास्त बुझाउने अन्तिम म्याद मंसिर २१ गतेसम्म र दोब्बर दस्तुर तिरी मंसिर १९ गतेसम्म बुझाउन सक्नेछन् ।

यसैगरी नागरिक लगानी कोषमा अधिकृत ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना , वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरिएको छ । यी पदका लागि सम्बन्धित विषयमा प्लस टुदेखि स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेको हुनुपर्नेछ ।

कोषमा पनि दरखास्त बुझाउने अन्तिम म्याद मंसिर २१ गतेसम्म र दोब्बर दस्तुर तिरी मंसिर १९ गतेसम्म बुझाउन सक्नेछन् । उम्मेदवारले मंसिर २७ गते कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।