काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिस गर्नेछ ।  बैंकले सिफारिस भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए । त्यैगरी संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरी पछि वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका बरिष्ठ उपाध्यक्ष डा.ठाकुर मोहन श्रेष्ठले मन्तब्य व्यक्त गरे । 

उक्त समारोहमा बैंकका उप कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठ लगायतको उपस्थिति  रहेको थियो । कार्यक्रम कम्पनी सचिव भोलानाथ पौडेलले सञ्चालन गरेका थिए । बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।