काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन २२ करोड ४५ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेर १४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आय २२ करोड ५५ लाख रुपैयाँ रहेको थियो। पुनर्बीमा कमिसन आय १७ करोड ४८ लाख रुपैयाँबाट बढेर १७ करोड ६९ लाख रुपैयाँ भएको छ। 

यो अवधिमा कम्पनीले ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६ करोड ६ लाख करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी २९.६५ प्रतिशतले कम हो। 

समीक्षा अवधिमा कम्पनीको नाफा ४३.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ६३ करोड ८५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ३६ करोड ३ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको छ। 

कम्पनीको व्यवस्थापन खर्च ६.७९ प्रतिशतले घटेर भएर १७ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च १९ करोड १३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ८ प्रतिशतले बढेर २ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको थियो। २ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ६.०७ प्रतिशतले बढेर ३ अर्ब १४ करोड रुपैयाँ भएको छ। 

समीक्षा अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ४६ हजार ८८३ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या १५ हजार ९३० रहेको थियो।

चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १३५.१४ रुपैयाँ, पीई अनुपात १५९.८४ गुणा र प्रतिसेयर नेटवर्थ १२८०.८१ रुपैयाँ रहेको छ।