काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई बिनाधितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ । 

मंसिर १५ गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको हो ।  

नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकको रोहवरमा नेपाल बैंक लिमिटेडका तर्फबाट काठमाण्डौ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

सो कार्यक्रममा  नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै राष्ट्रिय विमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिरचन्द्र देवकोटा र सहायक  ब्यवस्थापक आशिष राई लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । 

सो कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । 

उनले यी दुई संस्थाहरुबीच पारस्परिक सहयोगको अन्य धेरै संभावनाहरु रहेको समेत सो क्रममा उल्लेख गरेका थिए । 

राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकले नेपाल बैक लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधाहरुको प्रशंसा गर्दै राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुका लागि बिनाधितो सेवाग्राही कर्जा लिने सुबिधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यबाद समेत दिएका थिए ।