काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलार्य आपसमा गाभेको छ।

गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिनेछ। गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो। गाभिएको विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने राष्ट्र बैंकले जनाएको छ। 

अहिले राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल छन् भने फाइनान्स कम्पनी सुपरिवेक्षण विभागमा पिताम्बर भण्डारी छन्। नयाँ विभागको जिम्मेवारी बिहीबारसम्म कसैलाई पनि तोकिएको छैन।

यसैबीच राष्ट्र बैंकले ‘गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ थप गरेको छ। यसको प्रमुखको जिम्मेवारी अहिलेलाई वीरेन्द्रदत्त अवस्थीलाई दिइएको छ। उनी अहिले बैंकिङ विभागको निर्देशक छन्।

नयाँ विभागले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआईडीसीएलजस्ता संस्थाहरुको सुपरिवेक्षण गर्नेछ।