काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्था कार्यान्वयन गर्न आज जारी गरेको सर्कुरलमार्फत ल्याइएको व्यवस्थाले सेयर बजार तरंगित भएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशनमा संशोधन गर्दै व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा २ प्रतिशतको विन्दुमा अन्तर राख्ने व्यवस्था गरेको छ। यसअघि व्यवस्थाअनुसार यस्तो अन्तर १ प्रतिशतको विन्दुमा कायम रहेको थियो। 

उदाहरणका लागि हाल वाणिज्य बैंकहरुको व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत रहेको छ। नयाँ व्यवस्थाअनुसार यदि व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत नै रहने हो भने संस्थागतर्फको ब्याजदर घटाएर ९.०३ प्रतिशतमा झार्नुपर्ने हुन्छ। तर, संस्थागततर्फको ब्याजदर १०.०३ नै राख्ने हो भने व्यक्तिगततर्फको ब्याजदर १२.०३ प्रतिशत पुर्याउन बैंकहरु बाध्य हुनेछन्। 

राष्ट्र बैंकको यही नीतिले ब्याजदर बढ्ने सम्भावना प्रबल बनेको भन्दै सेयर बजारमा चर्चा चल्न थालेको छ। 

बजार जानकार सरोज भट्टराई राष्ट्र बैंकको यो सर्कुलरका कारण बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन बाध्य हुने बताउँछन्। ‘ब्याजदर बढ्न सेयर बजारका लागि राम्रो होइन’, उनले भने, ‘अन्य कारणले पनि बैंकहरुलाई ब्याजदर बढाउन दबाब परिरहेको थियो। यो सर्कुलरले ब्याजदर बढाउन बैंकहरुलाई थप प्रोत्साहित गरेको छ।’

ब्याजदर बढे पनि सर्कुलरमार्फत अन्य सकारात्मक नीतिले सेयर बजारमा पर्ने प्रभाव कम हुन सक्ने भट्टराईको तर्क छ। ‘राष्ट्र बैंक घरजग्गामा जाने कर्जामा गरेको कडाइले केही जोखिम लिएर कारोबार गर्नेहरुले भने सेयर बजारमै लगानी गर्न सक्छन्’, उनले भने।

अर्का बजार जानकार वीरेन्द्र बिष्ट राष्ट्र बैंकको सर्कुरल आए पनि बैंकहरुले ब्याजदर बढाउँछन् भन्ने कुरा अहिले नै भान्न गाह्रो रहेको बताउँछन्। ‘किनकि ब्याजदर बढाउने वा नबढाउने भन्ने कुरा बैंकहरुको इच्छामा भर पर्छ’, उनले भने, ‘यदि ब्याजदर बढिहालेमा अल्पकालका लागि बजार केही अंकले घट्न सक्छ।’

बजार जानकार गोविन्दप्रसाद घिमिरेले ब्याजदर बढेमा सेयर बजारमा सकारात्मक प्रभाव नपर्ने र केही करेक्सन आउन सक्ने बताए। 

व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा २ प्रतिशतको अन्तर हुनुले व्यक्तिगततर्फकै ब्याजदर बढ्न सक्ने मुक्ति अर्यालको अनुमान छ। ‘ब्याजदर बढेमा बजारमा सप्लाई आउन सक्छ’, उनले भने।