– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँका लागि लक्षित नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन सुरु गरेको छ। राष्ट्र बैंकले हिजो बुधबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेको हो।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाल बुुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिईएको बताउँछन्। ‘हामीले समय लम्ब्याउने हिसाबले हिजैदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन थालेका हौँ’, उनले भने, ‘त्यस हिसाबले हिजो मात्रै झन्डै २२ करोड रुपैयाँको नयाँ नोट दिएका छौँ।’

नेपालका अनुुसार आज ३० करोड रुपैयाँबराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थामा गएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले यी संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपालको भनाइ छ। 

राष्ट्र बैंकले बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने प्रमुख नेपालको भनाइ छ। ‘सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट साट्न पाउनेछन्’, उनले भने। 

सर्वसाधारणहरुले यही आगामी बुुधबार (भदौ २९ गते) बाट नयाँ नोट साट्न पाउनेछन्। राष्ट्र बैंकले यस वर्ष १० अर्ब नयाँ नोट बाँड्ने योजना बनाएको छ।