काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा कुल ५ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५ अर्ब ३२ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। जसअनुसार राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्नेछ। 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्न लागेको हो। यस्तो लगानी २०७७ पुस १ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म ३६५ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम वाणिज्य बैंकहरुमा ३ अर्ब २० करोड रुपैयाँ, विकास बैंकहरुमा ६० करोड रुपैयाँ र वित्त कम्पनीहरुमा २० करोड लगानी गर्नेछ। त्यस्तै कर्मचारी सुरक्षा कोषको कुल १ अर्ब ३२ करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ५ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुमा १९ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ६ करोड ६० लाख रुपैयाँ लगानी गरिनेछ। 

इच्छुक बैंक तथा वित्त कम्पनीहरुले चाहेको रकम र प्रस्तावित ब्याजदरसहित राष्ट्र बैंकमा आउँदो मंसिर १४ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। 

कम्तीमा दुई वर्षदेखि सञ्चालित र राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुले मात्र बोलपत्र पेस गर्न पाउनेछन्।