काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आज सोमबार (पुस २७ गते) बाट आवेदन पेस गर्न आह्वान गरेको छ।

केन्द्रीय बैंकबाट ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ को बुँदा नं. ९ को ३ (क) बमोजिम इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने साधारण पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरिएको हो। त्यस्ता लघुवित्तहरुले पुनरकर्जा कार्यविधिको अनुसूची १क बमोजिमको ढाँचाको आवेदन पेस गर्नुपर्नेछ। यसका लागि संस्थाको सञ्चालक समितिको निर्णय पनि अनिवार्य रुपमा पेस गर्नुपर्नेछ।

आवेदन दिँदा संस्थाले माग गर्ने कुल पुनरकर्जाको रकम संस्थाको अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने छ। त्यस्तै आवेदन पेस गर्ने संस्थाको अघिल्लो त्रैमासको पुँजीकोष अनुपात केन्द्रीय बैंकले तोकेबमोजिम पुगेको हुनुपर्नेछ।

यसैगरी पुँजी योजनाअनुसार चुक्तापुँजी पुगेको हुनुपर्नेछ भने विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कार्यकारी प्रमुखलाई कुनै कारबाही नभएको हुनुपर्ने छ।

यस्तै त्यस्ता संस्थाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्नेछ। विगत एक वर्षमा केन्द्रीय बैंकबाट शीघ्र सुधारात्मकलगायत कुनै पनि कारबाहीमा नपरेका संस्थाहरुले मात्र आवेदन पेस गर्न पाउनेछन्। 

पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतका आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा समायोजन गर्नुपर्नेछ। 

आवेदन आउँदो माघ १२ गतेसम्म पेस गर्न सकिनेछ। आवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेस गर्ने अन्तिम दिन मानिने केन्द्रीय बैंकले जनाएको छ। 

रितपूर्वक पेस नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।