काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार सूचना तथा सञ्चार नीति जारी गरेको छ।

सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सूचना सम्प्रेषण गर्ने उद्देश्यसहित राष्ट्र बैंकले  सूचना तथा सञ्चार नीति, २०७७ जारी गरेको हो।

सम्प्रेषित सूचनाका माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन तथा स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अझै बढ्ने विश्वासका साथ नयाँ सञ्चार नीति ल्याइएको केन्द्रीय बैंकले जनाएको छ।

नयाँ सञ्चार नीतिबमोजिम अब राष्ट्र बैंकले सूचनाको सम्प्रेषणका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजनबाहेक सामाजिक सञ्जाल पनि प्रयोग गर्नेछ। राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुले के कस्तो सूचना सम्प्रेषण गर्न पाउने भनेर पनि नीतिमा स्पष्ट पारेको छ। गभर्नरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि कामकारबाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नर तथा डेपुटी गभर्नरहरुले सूचना सम्प्रेषण गर्न पाउनेछन्।

त्यस्तै सञ्चार नीतिअनुसार बैंकको निर्णय तथा गतिविधिबारे बैंकका प्रवक्ता वा सहप्रवक्ताले सञ्चारमाध्यमलाई सूचना दिन सक्नेछन्। विभागीय प्रमुखहरुले भने प्रवक्तासँग समन्वय गरी गभर्नरलाई सोधेरमात्र सूचना दिन पाउने नीतिमा व्यवस्था गरिएको छ। 

प्रदेश कार्यालयका हाकिमहरुले प्रवक्तासँग समन्वय गरेर सूचना दिन पाउने नीतिमा उल्लेख छ। काठमाण्डौमा रहेका निर्देशक र त्योभन्दा तलका कर्मचारीले प्रवक्ताको स्वीकृति लिएर विशेषज्ञका रूपमा मात्र सूचना दिन पाउनेछन्।

प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीले कुनै सूचना तथा जानकारी सम्प्रेषण गर्ने क्रममा आवश्यक देखेमा सम्बन्धित विषयवस्तुको ज्ञान भएका कर्मचारीमार्फत विशेषज्ञका रुपमा सो विषयका बारेमा सूचना तथा जानकारी सम्प्रेषण गर्न गराउन सक्ने सञ्चार नीतिमा व्यवस्था गरिएको छ। 

नेपाल राष्ट्र बैंकको सूचना तथा सञ्चार नीति, २०७७ हेर्न यहाँ क्लिक गर्नुहोस् ।