काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी आज (फागुन १८) बाट अवकाश पाएका छन्। पाँचवर्षे कालकाल पूरा गर्दै श्रेष्ठ र शिवाकोटीले अवकाश पाएका हुन्।

श्रेष्ठ २०४६ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए। उनी २०५३ मा उपनिर्देशक, २०५५ मा निर्देशक र २०६९ सालमा कार्यकारी निर्देशकहुँदै डेपुटी गभर्नर बनेका हुन्। 

यसअघि जनशक्ति व्यवस्थापन विभागका प्रमुख रहेका श्रेष्ठले लन्डनबाट स्कुल अफ फाइनान्स एन्ड म्यानेजमेन्टमा एमबीए गरेका छन्। भारतबाट नेसनल इन्स्टिच्युट अफ बैंकिङमा एमबीएस गरेका श्रेष्ठले नेपालबाट लेखामा एमबीए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

*श्रेष्ठलाई सरकारले गम्भीर आरोप लगाएर केही समय निलम्बनमा राखेको थियो। तर उनीमाथि लागेको आरोप पुष्टि भएन। 

शिवाकोटी प्रधान सहायक (नासु स्तर) मा २०४४ सालमा राष्ट्र बैंक प्रवेश गरेका हुन्। शिवाकोटीले अमेरिकाबाट फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन्। उनले नेपालबाट एमबीएका छन्। उनले इटलीमा माइक्रो फाइनान्सको वोल्डर ट्रेनिङ लिएका थिए। 

राष्ट्र बैंकमा अनुसार ५८ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि स्वतः अवकाश हुने व्यवस्था छ। 

अब रिक्त दुई डेपुटी गभर्नरका लागि दौडधुप सुरु हुने बताइएको छ। गर्भनरको सिफारिसमा अर्थमन्त्रीले ४ जनाको नाम मन्त्रिपरिषद्मा लैजाने र तीमध्ये २ जनालाई डेपुटी गभर्नरमा नियुक्ति गरिनेछ। 

हाल डेपुटी गर्भनरका लागि राष्ट्र बैंकमा रहेका कार्यकारी निर्देशकहरुको दाबी पर्ने देखिन्छ। 

*सच्याइएको 
यसअघिको समाचारमा श्रेष्ठलाई सरकारले गम्भीर आरोप लगाएर केही समय निलम्बनमा राखेको थियो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । गलत सूचनाले सम्बद्ध पक्षलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।