काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति र कल निक्षेपमा ६४.६३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। 
केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको कोषमा रहेको कुल ६४ करोड ६३ लाख ५९ हजार ७०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो। जसमध्ये राष्ट्र बैंकले मुद्दति निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न जनाएको छ। 

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति तथा कल निक्षेपमा १ वर्षका लागि लागानी गरिने जनाइएको छ। त्यस्ता बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई प्रस्ताव पेस राष्ट्र बैंकले आह्वान गरेको छ। प्रस्ताव जेठ ११ गते दिउँसो ४ बजेभित्र राष्ट्र बैंकले तोकेको ई–मेल आईडीमा पठाउनुपर्नेछ।

प्रस्ताव पेस गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि २ वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम भएको, खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशत वा सोभन्दा बढी नरहेकोलगायतका सर्त राष्ट्र बैंकले अगाडि सारेको छ।