काठमाण्डौ । आउँदा माघसम्म औसत मुद्रास्फीति १० प्रतिशत हुने उपभोक्ताले अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो। 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ। यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग गरी पहिलो सर्वेक्षण २०७७ माघ महिनामा सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरुको मुद्रास्फीतिसम्बन्धी अपेक्षा संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ। 

सर्वेक्षणमा सहभागी उत्तरदाताको अनुमानका आधारमा गणना गर्दा २०७७ माघको औसत मुद्रास्फीति ८ प्रतिशत, ३ महिनापछि (२०७८ वैशाखको औसत मुद्रास्फीति ८.७ प्रतिशत तथा १ वर्षपछि २०७८ माघको औसत मुद्रास्फीति १० प्रतिशत हुने अपेक्षा रहेको पाइएको केन्द्रीय बैंकले जनाएको छ। आगामी ३ महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र आगामी १ वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। 

सहरी क्षेत्रका उपभोक्तामा मात्र सीमित रहेको यस सर्वेक्षणको दायरालाई क्रमशः विस्तार गर्दै भविष्यमा क्रमशः ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ता, ट्रेड युनियन, आयातकर्ता, थोक बिक्रेता, उत्पादक, विज्ञ तथा उद्यमीको अनुमानलाई समेत समेट्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ।