काठमाण्डौ । मौद्रिक नीतिको प्रतीक्षामा रहेका सेयर बजारका लगानीकर्ताहरुमाझ आज नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको सर्कुलरबाट अन्यौलता सिर्जना गरेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी सर्कुलरले धितोपत्र बजारमा कस्तो प्रभाव पर्ला भन्ने जिज्ञासा आमलगानीकर्तामाझ उठेको छ। बजार तथा वित्तीय क्षेत्रका जानकार भने राष्ट्र बैंकको सर्कुलरले धितोपत्र बजारलाई खासै असर नपार्ने बरु दीर्घकालमा सकारात्मक प्रभाव बताउँछन्। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट असल कर्जाको प्रभिजनिङको व्यवस्थाले एउटा खल्तीको पैसा अर्को खल्तीमा मात्र गएको बताउँछन्। ‘यसले बैंकहरुको बोनस सेयर वितरण गर्ने क्षमता बढ्ने अवस्था सिर्जना भएको छ’, उनी भन्छन्, ‘किनकि बैंक तथा वित्तीय संस्थाहरुले अब कस्ट अफ फन्डभन्दा बढी नगद लाभांश दिन पाउने छैनन्।’

राष्ट्र बैंकको आजको सर्कुलरका केही सकारात्मक पक्ष रहेको पनि बिष्टले बताए। गत आर्थिक वर्षको असार मसान्तभित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयावधि भदौ १५ सम्म तोकिनुले प्रतिसेयर आम्दानी (ईपीएस) मा फरक नपार्ने, बोनस सेयर बढी नै दिनुपर्ने तथा वित्तीय प्रणालीमा स्थायित्व आउने बिष्टको तर्क।

अर्थशास्त्री मुक्तिबहादुर खत्री राष्ट्र बैंकको आजको सर्कुलर वाणिज्य बैंकहरुसँग सल्लाह गरेरै आएको हुन सक्ने बताउँछन्। राष्ट्र बैंकको यो सर्कुलरले राम्रोसँग कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै असर नगर्ने बताउँछन्। ‘राष्ट्रको यो नीतिले कमसल धितो र गलत ठाउँमा ऋण प्रवाहमा कमी आउन सक्छ, यसले सर्वसाधारणको बचत सुरक्षित हुन्छ’, उनले भने, ‘यसले वित्तीय प्रणालीमा स्थायित्व आउँछ।’

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला यो सर्कुलरले मौद्रिक नीति पनि सकारात्मक नै आउने संकेत मिलेको बताउँछन्। राष्ट्र बैंकको सर्कुलरले अल्पकालीन प्रभाव परे पनि दीर्घकालीन रुपमा सेयर बजारलाई असर नगर्ने उनको दाबी छ।

असल कर्जाको प्रभिजनिङ ३० प्रतिशतले बढाउनु पनि राम्रो रहेको बास्तोलको भनाइ छ। ‘यसले बैंक तथा वित्तीय संस्था झनै बलियो हुन्छन्’, उनले भने।

राष्ट्र बैंकको आजको सर्कुलरले नयाँ लगानीकर्तामाझ अन्यौलको वातावरण सिर्जना भए पनि दीर्घकालीन असर नगर्ने भएकोले ढुक्क भएर सेयर कारोबारमा लाग्न बास्तोलाले सुझाव दिए। ‘लघुवित्तमा अलिकति कडाइ गरेजस्तो देखिए पनि बजारमा खासै प्रभाव पर्दैन’, उनले भने।