– अर्जुन तिमिल्सिना
काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको सधैँ भीडभाड हुने गर्छ। देशका ७७ वटै जिल्लाबाट राहदानीलगायत पुलिस रिपोर्ट बनाउनेको घुइँचो नै हुने गर्छ।
राहदानी विभागको भवन अत्याधुनिक तरिकाले सबै सुविधा एकैठाउँबाट लिन मिल्ने गरी बनाइएको छ। तर, विभागको भवनमा पार्किङका लागि बनाइएको अन्डर ग्राउड खाली राखेर सेवाग्राहीका सवारीसाधान भने करिब २००–३०० मिटर पर खोलाकिनार नजिक पार्किङ गर्ने व्यवस्था गरिएको छ।
विभागको हाल अन्डर ग्राउन्ड पार्किङ खाली नै छ। केही समयपहिले यो अन्डर ग्राउन्डमा पुलिस रिपोर्ट बनाउने गरिन्थ्यो। ‘अन्डर ग्राउन्ड खाली राखेर मोटरसाइकल पार्किङ किन खोलाकिनारमा पठाइयो ? बुझ्न सकिएन’, एक सेवाग्राहीले भने।
बाहिर ढोकामा बिचौलियाको बिगबिगी पनि उस्तै छ। ५० रुपैयाँको रिचार्ज ५५ रुपैयाँमा बेचिन्छ भने एक पेज अनलाइन फारम भरेको सेवाग्राहीबाट ५०० रुपैयाँ उठाइन्छ।
पहिलेको तुलनामा हाल धेरै सुधार भए पनि पार्किङलगायतका बिचौलियको बिगबिगी भने अझै केही सुधार गर्न बाँकी रहेको त्यहाँ भेटिएका सेवाग्राहीहरुको गुनासो छ।
स्मरण रहोस् केही समयपहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्बन्धित व्यक्तिहरुलाई राहदानीलगायतको अध्यागमनसम्बन्धी कार्य चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए। काठमाण्डौका मेयर बालेन साहले राहदानी विभागको अन्डर ग्राउन्ड पार्किङको व्यवस्था गर्न भन्दै त्यहाँ गरिने पुलिस रिपोर्ट बनाउने कार्य हटाउन लगाएका थिए।
राहदानी विभागका एक अधिकारीले अन्डर ग्राउन्ड पार्किङमा अपोइन्टमेन्ट पाएकाहरुले सहजै ढंगले आफ्नो सवारीसाधन राख्न पाउने दाबी गरे। तर, विभागको दुवै गेटबाट सेवाग्राहीलाई आफ्ना सवारीसाधन भित्र पस्न भने नदिने गरेको पाइएको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago