काठमाण्डौ । रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आज (असार १७ गते) एकैदिन विशेष साधारणसभा डोकेका छन्।

दुवै कम्पनीको सभा आआफ्नो कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्नेछन्। रिडीको दिउँसो १ः३० बजेबाट र रैराङको बिहान ११ बजेबाट सभा हुनेछ।

दुवै सभाले रिडी हाइड्रोपावरमा रैराङ हाइड्रोपावर गाभ्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। दुवै सभाले विद्युत नियमन आयोगबाट प्राप्त स्वीकृतिसमेतका आधारमा १००ः९३ सेयर स्वाप रेसियो पनि पारित गर्नेछन्। 

रैराङ रिडीमा समाहितपश्चात स्वाप रेसियो अनुपातको सेयर संख्याल मिलान गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछन्।

दुवै सभाले मर्जर प्रयोजनाका लागि भएका समझदारीपत्र र अन्तिम सम्झौतापत्र पनि अनुमोदन गर्नेछन्।

दुवै सभामा मर्जर कार्य, नाम परिवर्तन, पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संशोधनलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।