काठमाण्डौ । अघिल्लो साता सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्ना देशभरका म्यानेजर, प्रदेश प्रमुख र विभागीय प्रमुखहरुलाई राखेर भर्चुअल संवाद गरे । यसरी संवाद गर्नुपछाडिको कारण बदलिँदो परिस्थितिमा कुन रणनीतिले काम गर्ने भन्ने थियो ।

प्रबन्धक र विभागीय प्रमुखहरुलाई निर्देशन दिंदै उनले भने–‘बिस्तारै देशमा आर्थिक गतिविधि बढ्न थालेको छ । सरकारले पनि चालु आर्थिक वर्षका लागि वृद्धिदरको ७ प्रतिशतको लक्ष्य संसोधन गरेको छैन । बजारमा कर्जाको डिमाण्ड समेत आउन थालेको देखिन्छ । एउटा माहौल क्रिएट भएको छ । हामीले यसको  विजिनेश वेनिफिट लिनुपर्छ ।’ 

वाणिज्य बैंकमध्येमा सबैभन्दा बढी आधारदर भएको सिटिजन्स बैंकका सीइओ पोखरेल पछिल्लो परिस्थितिबाट किन आशावादी देखिए त ? प्रत्युत्तरमा उनले भने–‘लोनहरुको डिमाण्ड बढ्न थालेको छ । साउन १ देखि भदौ अन्तसम्मको अवस्था हेर्दा पनि वाणिज्य बैंकहरुमा कुल १८ अर्बले लोन बढेको देखिएको छ भने डिपोजिट ४० अर्बले बढेको छ । यसलाई नराम्रो अवस्था भन्न सकिन्न । राष्ट्रबैंकले पछिल्लो समय सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थाको ताजा डेटाले समेत आशावादी बनाएको छ । हाम्रो बुझाईमा अवस्था सहज बन्दै गएको छ ।’ 

सीइओ पोखरेलका अनुसार यो अवधिमा बैंकहरुबीच एकअर्काको लोन स्वाप गर्ने ‘लिगलिगे दौड’ पनि जारी नै छ । तर, बेस रेट कम भएका बैंकहरुले लोन स्वाप गर्दा पनि आफ्नो बैंकको कर्जातर्फको बढोत्तरी निकै राम्रो रहेको उनले उल्लेख गरे । ‘उद्योगकै हाइ बेसरेट भएको हाम्रो बैंकमा त कर्जाको माग बढेको छ भने अरुमा त झनै सहज अवस्था होला ।’ उत्साहित हुँदै उनले भने–‘अबको अवस्था निकै नर्मलतिर जान्छ जस्तो देखियो ।’ 

पोखरेलको भनाईसँग एनआइसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पनि सहमत छन् । उनले पनि असोज लागेपछि लोनहरुको डिमाण्ड बढ्न थालेको बताए । ‘आर्थिक गतिविधिहरु पनि रिबाउण्ड हुने क्रममा छन् ।’ उनले बिजशालासँग भने–‘लोनको डिमाण्ड आशा गरिएभन्दा पनि निकै राम्रो छ ।’ 

उनका अनुसार पछिल्लो समय विजिनेश लोन, पर्सनल लोनमा विशेष आकर्षण देखिएको छ । अटो लोनमा चाहिँ अपेक्षित माग सिर्जना हुन नसकेको देखिन्छ । 

पोखरेल र न्यौपानेसँग एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी समेत सहमत छन् । ‘कर्जाको माग बिस्तारै बढ्न थालेको  देखिन्छ ।’ उनले भने–‘लङटर्मको प्रोजेक्ट बेस्डका लोन पनि जान थालेका छन् । हाइड्रोतर्फ समेत लोनको माग बढेको छ ।’ 

नेपाल बैंकर्स एशोसिएसन(एनबिए)का पूर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना भने नयाँ कर्जाको माग खासै नभएको बताउँछन् । ‘लकडाउन खुले पनि कसले लिन्छ लोन ? पुरानै लोन मात्र घुमिरहेको होला ।’ उनले भने–‘दशैंअघि नयाँ कर्जाको धेरै डिमाण्ड हुने छाँटकाट देखिन्न।’

नवील बैंक लिमीटेडका डिजिएम मनोज ज्ञवाली अर्थतन्त्रका सूचकहरु उत्साहप्रद देखिए पनि नयाँ कर्जाको माग खासै नभएको दाबी गर्छन् ।

‘मुद्रास्फिति ३.५ प्रतिशतभन्दा तल छ, ८–९ प्रतिशत हाराहारीले निर्यात बढेको र १८–१९ प्रतिशतले आयात घटेको छ । नेगेटिभ ग्रोथको आशा गरिएको रेमिटान्स २३ प्रतिशत बढीले बढेको छ । बीओपी(ब्यालेन्स अफ पेमेन्ट)को सरप्लस ५१–५२ अर्बको छ । १४ खर्ब बढीको विदेशी मुद्रा सञ्चित छ।’ उनले बिजशालासँग भने–‘यी इण्डीकेटर हेर्दा कोभिडको हामीलाई असरै परेन, वा हाम्रो अर्थतन्त्र ठीक दिशामा छ भन्ने देखिन्छ ।’

डेटाले सन्तोषजनक अवस्था देखाए पनि धरातलीय यथार्थ भने केही फरक रहेको महसुस गर्न सकिने उनको भनाई छ । तर, त्यति धेरै निराश बनिहाल्नुपर्ने अवस्था चाहिँ नरहेको उनी सुनाउँछन् । ‘कर्जाको माग छैन, असार मसान्तयता पनि घटेको अवस्था छ । यतिबेला कसले लिने कर्जा ?’ उनले थपे–‘अघिल्ला वर्षहरुमा साउन र भदौंमा कर्जा बढ्थ्यो, तरलता पनि टाइट हुन्थ्यो, यस्तो अवस्था छैन अहिले ।’

उनकाअनुसार आर्थिक गतिविधि अहिलेकै गतिमा बढिरह्यो भने अर्थतन्त्र र बैंकिङ सेक्टर खासै हिट हुने देखिन्न । 

नेपाल बैंकर्स संघ(एनबिए)का अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहालले असोज लागेपछि कर्जाको माग राम्रै बढेको बताए । ‘चैतपछि बढेको थिएन । असोज लागेपछि राम्रै बढेको देखिन्छ । बैशाखदेखि भदौसम्म रोकिएका चिजहरु सुचारु भएका कारण पनि बढ्नलाई सहयोग पुगेको हुनसक्छ । जेहोस् परिस्थिति बैंकिङका लागि सकारात्मक बन्दै गएको छ । हामी खुशी छौं ।’ उनले बिजशालासँग भने–‘असोजको ग्रोथ राम्रो देखिएको छ । बजारको गतिविधि पनि बढेकै छ । आर्थिक गतिविधि पनि बढेकै छ । बैंकिङमा आशाको किरण देखियो।’

अहिलेको अवस्था हेर्दा कारोबार बढ्न थालेको र यसले आर्थिक गतिविधि बढाई कर्जाको माग समेत बढाउने उल्लेख गर्दै उनले भने–‘यस्तो बेलामा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । स्वास्थ्यका मापदण्डहरुको पालनामा पनि विशेष ध्यान दिऔं ।’

दाहालकाअनुसार पछिल्लो समय ‘घर कर्जा’मा धेरै ठूलो माग देखिन्छ । ‘घर कर्जाको माग बढ्नु भनेको सिमेन्ट, रड, ढुंगा, माटो, बालुवा जस्ता क्षेत्रका गतिविधि बढ्नु हो ।’ उनले थपे । 

दाहालका अनुसार पछिल्लो समय हाइड्रोसँग रिलेटेड कर्जाको समेत माग बढेको छ ।

वाणिज्य बैंकका सीइओहरु तथा उच्चपदस्थ कर्मचारीको भनाईमा नेपाल राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्ट पनि सहमत देखिए । असोजमा नयाँ कर्जाको माग ह्वात्तै बढेको उनको भनाई छ । ‘प्रारम्भिक तथ्याङ्क हेर्दा असोज १ देखि १८ गतेसम्म ४१ अर्ब बराबरको नयाँ कर्जा परिचालन भएको देखिन्छ । यो अवधिमा ५१ अर्ब निक्षेप आएको छ ।’उनले भने–‘कर्जा बिस्तार भएको प्रारम्भिक तथ्याङ्कले बैंकिङमा आशाको किरण देखिएको कुरालाई पुष्टि गर्छ । 

डा. भट्टकाअनुसार हाल बैंकिङ प्रणालीमा १६३ अर्ब तरलता छ । यसअघि ३० अर्ब राष्ट्रबैंकले डिपोजिट कलेक्सनबाट उठाएको छ । २० अर्बको सरकारले आन्तरिक ऋण उठायो । यसरी प्रणालीबाट ५० अर्ब तरलताको व्यवस्थापन भएको छ ।’ उनले थपे–‘तर, विगत ४ दिनमा सरकारले २० अर्ब खर्च गरेको देखिन्छ । यसको अर्थ फेरि तरलता बढ्यो भन्ने हो ।’