नयाँदिल्ली । रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)ले यो वर्ष लगातार पाँचौ पटक रिपो रेट बढाएको छ । 

आरबीआईले रिपो रेटमा ०.३५ प्रतिशतको बढोत्तरी गरेको हो । आरबीआईकाअनुसार अब रिपो रेट साबिकको ५.९० प्रतिशतबाट बढेर ६.२५ प्रतिशतको विन्दूमा पुगेको छ । 

यो निर्णयसँगै भारतमा अब सबै खालका कर्जाहरुको ब्याजदर महङ्गो हुने निश्चित देखिएको छ । 

आरबीइआईको रिपो रेटमा वृद्धि गर्ने निर्णयले आम मानिसहरुलाई दह्रो झट्का लागेको रिपोर्टहरुमा उल्लेख छ। 

रिपो रेटमा बढोत्तरीसँगै पुराना र नयाँ कर्जाको ब्याजदर बढेको छ भने कर्जा लिनेहरुले मासिक रुपमा भुक्तानी गर्नुपर्ने किस्ता रकम समेत बढ्नेछ । 

यो वर्ष आरबीआईले रिपो रेट लगातार पाँचौपटक बढाएको छ । यो वर्ष कुल यस्तो रेट मात्रै २.२५ प्रतिशतले बढिसकेको छ । आरबीआई गभर्नर शशिकान्त दासले चालु वित्त वर्षका लागि भारतको महङ्गीदर ६ प्रतिशतको सीमाभित्र राख्ने कोशिश गरिएको बताएका छन् । 

गभर्नर दासले वित्त वर्ष २०२२-२३ का लागि भारतको जीडीपी ग्रोथ ६.८ प्रतिशत रहने अनुमान सार्वजनिक गरेका छन् । यसअघि केन्द्रीय बैंकले यस्तो ग्रोथ ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, मौद्रिक नीतिको समीक्षासँगै आर्थिक वृद्धिदरको लक्ष्यलाई समेत केही घटाइएको हो । 

गभर्नर दासले वैश्विक अप्ठ्यारा र चुनौतिका बीच भारतको जीडीपी ग्रोथ सन्तुलित रहेको दाबी समेत गरेका छन् । उनकाअनुसार पछिल्लो समय मागमा बढोत्तरी हुन थालेको छ । खासगरी भारतका ग्रामीण इलाकामा वस्तु तथा सेवाको मागमा बढोत्तरी भएको छ, यसले सिङ्गो अर्थव्यवस्थालाई सपोर्ट गर्ने दासको दाबी छ । 

रिपो रेट भनेको त्यो दर हो, जुन दरमा आरबीआईले बैंकहरुलाई कर्जा दिन्छ । यस्तै, रिभर्स रिपो भनेको त्यस्तो दर हो, जहाँ बैंकहरुले आरबीआईमा पैसा राख्दा ब्याज पाउँछन् । रिपो रेट कम भएसँगै कर्जाको इएमआई घट्छ भने रिपो रेट बढेपछि सबै खालका कर्जाहरुको ब्याजदर बढ्छ । यहीकारण इएमआई पनि बढ्छ । 

सेयर बजारमा पहिरो
ब्याजदर र सेयर बजारको गति ठीक उल्टो हुन्छ । ब्याजदर बढ्दा त्यसको सोझो असर सेयर बजारमा पर्छ । ब्याजदर घट्दा त्यसको सकारात्मक प्रभाव बजारमा पर्छ । 

भारतको केन्द्रीय बैंकले रिपो रेट बढाएर बैंकहरुको ब्याजदर वृद्धि भएसँगै त्यसको असर बुधबारको सेयर बजारमा पनि परेको छ । 

रिपो रेट बढाउने केन्द्रीय बैंकको घोषणा सार्वजनिक भएलगत्तै भारतीय सेयर बजार घटेको छ । यो खबरका कारण सेन्सेक्स २०० अंकले घटेको छ । यस्तै, बीएसआई इण्डेक्स पनि १२३ अंकले घटेको छ भने निफ्टी इण्डेक्स पनि ५० अंकभन्दा धेरैले घट्न पुगेको छ ।