काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रु. ६३ करोड रुपैयाँबराबरको आईपीओ आउँदो भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ।

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ। 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गते (बैंकिङ समयपछि) हुनेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासमा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।