काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ९२.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५७ करोड ७७ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १२६.७३ प्रतिशतले बढाएर ८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय ३ करोड ६० लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा कम्पनीले १४ करोड २ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ३३ लाख ६८ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २४.८० प्रतिशतले बढेर १९ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १५ करोड ३५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १ अर्ब ७९ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार ७७ करोड ५९ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म १३ करोड ६२ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर १९ करोड ८५ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार १ करोड ५१ लाख रुपैयाँबाट बढेर २ करोड २० लाख रुपैयाँ पुगेको छ। 

दोस्रो त्रैमासमा कम्पनीको नाफा २४.३३ प्रतिशतले बढेर ५ करोड ७८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल जारी बीमालेखको संख्या ८ हजार ३९१ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ७ हजार ६३२ रहेको थियो।

चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.५१ रुपैयाँ, पीई रेसियो ११५.५२ गुणा र प्रतिसेयर नेटवर्थ ११०.५० रुपैयाँ रहेको छ।