काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २२ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान ११ बाट भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले बोनस सेयर जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कार्यका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आउँदो वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।