काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमीटेडले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । 

सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यो योजना बीमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । 

यस योजनामा कथम्कदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ।  

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिनसक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजनासँगै बीमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने बताइएको छ ।