काठमाण्डौ । रुकुम पश्चिमको मुसीकोटमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको सुरु गरेको छ।

महिलालाई रोजगारी र समृद्धिको मूल नारा दिई सञ्चालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए। पुस११ गते लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, महिला तथा अगुवा कार्यकर्ताको उपस्थिति थियो। 

कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई रोजगारी दिई आयआर्जनका लागि यो कार्यक्रम अवसरका रुपमा रहेको बताए। 

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणका लागि यो कार्यक्रम कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे। 

रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुमजस्तो दुर्गम क्षेत्र राजनीतिक चेतना र सुविधाको हिसाबले विकसित भइसकेको भए पनि महिलाको आर्थिक उन्नतिका लागि महालक्ष्मी लाइफको यो कार्यक्रम निकै नै प्रभावकारी हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष शेरबहादुर खड्काले महिला सशक्तीकरणका लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय वृद्धिका लागि सञ्चालित यस्ता कार्यक्रममा महालक्ष्मी लाइफसँग सहकार्य गरेर जान तयार रहेको जानकारी दिए। 

महालक्ष्मी लाइफको रुकुम पश्चिम मुसीकोटका प्रमुख व्यूँझना पुन देवकोटाद्वारा सञ्चालित कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्वउपाध्यक्ष इन्दिरा ओली, वडा नं. ३ का वडाध्यक्ष जगदीश नकाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि गरी ६० जनाको उपस्थिति थियो।