काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओको रिजल्ट सार्वजनिक भएको छ।

यो कम्पनीको आईपीओ आज बिहान साढे ८ बजे धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा भएको थियो। आईपीओ नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/, सम्बन्धित धितोपत्र बिक्री प्रबन्धक तथा कम्पनीको वेबसाइटमा केही घन्टापछि हेर्न सकिनेछ। 

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

यो आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदकबाट कुल २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता माग भएको थियो। जसमा १५ लाख ९० हजार ८९६ आवेदकबाट माग भएको २ करोड १८ लाख ७६ हजार ६१० कित्तामात्र सदर भएको छ। 

बाँकी ८३ हजार ६९० आवेदकबाट माग भएको १५ लाख ४९ हजार ८० कित्ता अस्वीकृत भएको छ भने २४ हजार १०८ आवेदकबाट माग भएको ३ लाख २७ हजार ४० कित्ता शंकास्पद रहेको भन्दै बदर गरिएको छ। त्यस्तै ८ हजार ५३५ आवेदकबाट माग भएको १ लाख २० हजार ७५० कित्ता अयोग्य भएका छन्।  

मागभन्दा बढी आवेदन परेपछि यो आईपीओ पनि गोलाप्रथाबाट वितरण गरिएको छ। जसअनुसार ३७ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी रहेको ७ कित्ता २० कित्ताभन्दा माथि आवेदन दिनेहरुमध्ये ७ जनाले थप १/१ कित्ता पाएका छन्।