काठमाण्डौ । सेयर बजार बढेको बेला बलिया र कमजोर सबै किसिमका कम्पनीका सेयरभाउ बढेको हुन्छ। हरेक बुलिस ट्रेन्डमा यस्तै हुन्छ। 

सेयर बजारमा बुल आएको त्यतिबेला अनुभव हुन्छ, जति बेला निकै कमजोर कम्पनीका सेयरभाउ पनि  बढेको हुन्छ। बुलिस बजारमा आधारभूत रुपमा बलियाभन्दा निकै कमजोर कम्पनी बढी बढ्ने गर्छन्। किनकि लगानीकर्ताले थोरै पैसामा धेरै कित्ता सेयर आउने कम्पनी बजारमा खोज्ने गर्छन्। त्यही कारण सस्ता र कमजोर कम्पनीहरुका सेयरमूल्य उचालिने गर्छ।

हालै धितोपत्र बजारमा कारोबार आएको रुरु जलविद्युत कम्पनीको सेयरमूल्यमा निरन्तर सर्किट लागिरहेको छ। कारोबारको आज १२ औँ दिनमा यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सर्किट लग्यो। योसँगै अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ६४ रुपैयाँ कायम भएको छ। 

खासमा यो कम्पनीको सेयरमूल्य किन बढिरहेको छ ? के यो कम्पनीको सेयरभाउ अहिलेको मूल्यअनुसार आधारभूत हिसाबले उपयुक्त छ त ? यी यस्तै प्रश्न अहिले सामाजिक सञ्जालदेखि यत्रतत्र देख्न पाइन्छ। 

यो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८.६१ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.८५ रुपैयाँ रहेको थियो। 

सेयरपुँजी ३६ करोड ६९ लाख ३४ हजार ९०० रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १२ करोड २७ लाख ५८ हजार ७६८ रुपैयाँ रहेको छ। 

अहिलेको बजारमूल्यअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५७ गुणाभन्दा बढी छ । 

रुरु जलविद्युत बुलिस ट्रेन्डको यो एउटा प्रतिनिधि कम्पनीमात्रै हो। बुलिस ट्रेन्डमा हरेक बर्ष यसरी नै बढ्ने केही कम्पनीहरु बियरिस ट्रेन्डमा भने मूल्य १०० भन्दा तल आएका ज्वलन्त उदाहरण हामीमाझ धेरै पुरानो छैन। 

सेयर बजारमा एउटा भनाइ निकै प्रचलनमा छ– ‘सेयर लगानीकर्ताको स्मरणशक्ति निकै कमजोर हुन्छ।’ यो भनाइ आजको बजारले पुष्टि गरेजस्तो देखिन्छ। यसको अर्थ बजार बढ्नु नराम्रो भन्न खोजिएको भने होइन। लगानीकर्ताहरु कमजोर वित्तीय अवस्था भएका कम्पनीको उच्च मूल्यबाट पनि जोगिन उपयुक्त हुन्छ।

बजार जानकारका अनुसार मूल्य आम्दानी अनुपातको हिसाबले रुरु जविद्युतको मूल्य उचालिनु अस्वाभाविक छ। ‘नयाँ कम्पनीको मूल्य यसरी बढ्नुमा कुनै खेल हुन सक्छ, सोझासाझा लगानीकर्ता यस्ता खेलबाट बच्नुपर्छ’, एक बजार जानकार भन्छन्, ‘किनकि यो कम्पनीबाट लगानीकर्ताले प्रतिफल निश्चित भइसकेको छैन।’