काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ। यसको अर्थ आज असोज ६ गतेसम्म कायम सेयरधनीमात्र यी दुवै आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यी दुवै आर्थिक वर्षको लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज १६ गते १५ औँ र १६ औँ वार्षिक साधारणसभा एकैदिन डाकेको छ। सभा कम्पनीको काठमाण्डौ हात्तीसारस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।