काठमाण्डौ । रुरु जलविद्युत् परियोजना लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज शुक्रबार (फागुन २१ गते) अन्तिम दिन रहेको छ। 

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो। त्यसमध्ये गत फागुन ७ गतेबाट कम्पनीले पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सकिनेछ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ। 

कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारणका लागि कम्पनीले अंकित दरमा रु. २० प्रिमियम थपेर रु. १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ।