काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। 

युरोपेली संघको प्रतिबन्धपछि रुसको उत्पादनमा उल्लेखनीय कमी आएमा साउदी अरब कच्चा तेलको उत्पादन बढाउन तयार रहेको प्रतिवेदन सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो। 

फाइनान्सियल टाइम्सका अनुसार साउदी अरब आपूर्ति अभावको जोखिमप्रति र तेलको मूल्यमा नियन्त्रण गुुमाउनु आफ्नो हितमा नरहेको तथ्यप्रति सचेत रहेको छ। 

आज बिहान एसियाली कारोबार समयमा तेलको मूल्यमा गिरावट आएको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.६८ प्रतिशतले घट्दै प्रतिब्यारेल ११४.३४ डलर कायम भएको छ। त्यस्तै यूएस क्रुड फ्युचर्सको मूल्य पनि १.८७ प्रतिशतले घट्दै प्रतिब्यारेल ११३.१० डलरमा झरेको छ। 

गत सोमबार युरोपेली संघका नेताहरुबीच रुसको ९० प्रतिशत कच्चा तेलमा वर्षको अन्तिमसम्म प्रतिबन्ध लगाउने सहमति भएको थियो। उक्त सहमतिपश्चात विश्व बजारमा तेलको मूल्यवृद्धि भएको थियो। 

फाइनान्सियल टाइम्सका अनुसार साउदी अरेबिया र ओपेकका नेताहरुले अझै पनि तेलको वास्तविक अभाव नदेखिएको बताएका छन्। तर, महामारीको पुनरुत्थानका लागि विश्वभरका अर्थतन्त्रहरु पुनः खुला हुँदै गर्दा यो अवस्था नरहने र कच्चा तेलको माग बढ्ने निश्चितप्रायः छ। 

तेलको मुख्य आयातकर्ताका रुपमा रहेको चीनमा कोरोना संक्रमण घट्न थालेसँगै लकडाउन र प्रतिबन्धहरु हट्दै गएका छन्। –एजेन्सी