काठमाण्डौ । रुसी ऊर्जा आपूर्तिकर्ता ‘आरएओ नोरडिक’ले फिनल्यान्डमा गरिने विद्युत् आपूर्ति बन्द गरेको छ। 

भुक्तानीमा समस्या आएको भन्दै रुसी आपूर्तिकर्ताले विद्युत आपूर्ति बन्द गरेको जनाएको हो। फिनल्यान्डले पुरानो भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेको कम्पनीले जनाएको छ। 

उता फिनल्यान्डले भने रुसबाट कम मात्रामा विद्युत् आपूर्ति हुने गरेको र यसलाई अन्य वैकल्पिक स्रोतबाट परिपूर्ति गर्न सकिने जनाएको छ। 

फिनल्यान्डले रुसबाट १० प्रतिशत विद्युत आपूर्ति गर्ने गरेको र रुसले आपूर्ति बन्द गरेपछि स्विडेनबाट विद्युत ल्याइने र स्वदेशी विद्युत उत्पादन बढाइने फिनल्यान्डका विद्युत अधिकारीहरुले बताएका छन्।

रुसले गत बिहीबार फिनल्यान्डलाई नेटोमा आवद्ध नहुन चेतावनी दिएको थियो।

रुससँग फिनल्यान्डको करिब १३०० किलोमिटर सीमा जोडिएको छ।