काठमाण्डौ । युरोपेली संघ (ईयू)का नेताहरुले यो वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई सहायता उपलब्ध गराउन बेल्जियमको राजधानी ब्रसेल्समा बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त सहमति गरिएको हो । बैठकमा ईयू नेताहरुले हंगेरीसँग चलिरहेको गतिरोध अन्त्य गरेका छन्। तीन महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपमा लगाइएका प्रतिबन्धहरु सबैभन्दा कडा मानिन्छ।

यो सम्झौतापछि ईयूले रुसमाथि लगाएको प्रतिबन्धको बाँकी छैटौँ प्याकेजको बाँकी कुरा पनि लागू हुनेछ। जसमा रुसको सबैभन्दा ठूलो बैंक ‘स्बर बैंक’ लाई स्विफ्ट मेसेजिङ सिस्टमबाट हटाउने निर्णय पनि समावेश छ।

युरोपेली काउन्सिलका अध्यक्ष चार््ल्स मिसेलले ट्विट गर्दै लेखेका छन्, ‘रुसी तेल निर्यातमा प्रतिबन्ध लगाउने यूईको सम्झौता।’

यस सम्झौतामा रुसबाट तेल आयात तुरुन्तै दुई तिहाइभन्दा बढी कटौती गरिनेछ। यसले रुस लाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिने मिसेलको दाबी छ। 

मिसेलले अर्को ट्विटमा लेखेका छन्, ‘यो प्रतिबन्ध प्याकेजमा धेरै कठिन कदमहरु समावेश छन्।’

रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंक स्विफ्ट प्रणालीबाट हटाइनेछ। तीन रुसी राज्य प्रसारकहरु र युक्रेनमा युद्ध अपराधमा संलग्नहरुमाथि प्रतिबन्ध लगाइनेछ। –एजेन्सी