काठमाण्डौ। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा रुस दोस्रो स्थानमा उक्लिएको छ।
युक्रेनमाथिको आक्रमणपश्चात अन्तर्राष्ट्रिय प्रतिबन्धहरुका बाबजुत भारतलाई अधिक तेल बिक्री गर्ने देशको सूचीमा साउदी अरबलाई पछि पार्दै रुस दोस्रो ठूलो देश बनेको हो। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा इरान अहिले पनि पहिलो स्थानमा छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसबाट छुटमा तेल खरिद गर्ने भारतीय रिफाइनरीले मे महिनामा मात्रै २.५ करोड ब्यारेल तेल आयात गरेका छन्। जुन कुल आयातको १६ प्रतिशत हो।
यो वर्षको अप्रिल महिनामा सामुद्रिक मार्ग हुँदै भारत भित्र्ने कुल कच्चा तेल आयातमा रुसको हिस्सा ५ प्रतिशत रहेको छ। जुन गत वर्ष र सन् २०२२ को पहिलो त्रैमासमा १ प्रतिशत तल थियो।
युक्रेन आक्रमणपश्चात रुसमाथि लागेको प्रतिबन्धका बीच विश्वको तेस्रो ठूलो तेल आयातकर्ता देश भारत रुसबाट सस्तो मूल्यमा तेल खरिद गर्ने आफ्नो निर्णयलाई निरन्तर बचाउ गरिरहेको छ।
गत महिना भारतको तेल मन्त्रालयले भारतको कुल उपभोगको तुलनामा रुसबाट आयात हुने तेलको परिणाम एकदमै कम भएको जनाएको थियो।
मे महिनामा भारतलाई तेल निर्यात गर्ने देशमा इरान पहिलो स्थानमा रहेको भने रुस र साउदी अरब क्रमशः दोसंो र तेस्रो स्थानमा रहेका छन्।
अमेरिका र चीनपछि भारत तेल खपत गर्ने विश्वकै तेस्रो ठूलो देश हो। भारतले करिब ८५ प्रतिशत तेल अन्य देशबाट आयात गर्ने गर्छ। अहिले युक्रेन आक्रमणको १०० दिन कटिसकेको छ र रुसमाथि लागेको प्रतिबन्धका बाबजुत रुसले तेल निर्यातबाट पहिलेको तुलनामा अधिक कमाई गरेको छ।
एक रिपोर्टका अनुसार रुसले युक्रेन आक्रमणपश्चात पहिलो १०० दिनमा तेल–ग्यास निर्यातबाट मात्रै करिब १०० अर्ब डलर आर्जन गरेको छ। –एजेन्सी
6 minutes ago
27 minutes ago
38 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago