काठमाण्डौ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको महत्वपूर्ण अन्न सम्झौतालाई पुनः नवीकरण गरिएको छ। यद्यपि कति समयदेखि नवीकरण भएको हो भन्ने जानकारी छैन।
युक्रेनले उक्त सम्झौतालाई कम्तीमा १२० दिन अर्थात् ४ महिनासम्म कार्यान्वयन गर्नुपर्ने जनाएको छ। रुसले भने ६० दिन अर्थात् २ महिनासम्म कार्यान्वयन गर्न चाहेको छ।
रुसले पश्चिमी देशहरुले अन्न सम्झौताको म्याद थप गर्न चाहेमा रुसमाथिको प्रतिबन्ध हटाउनुपर्ने अडान लिएको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार अन्न सम्झौताको अन्त्य हुनु केही घन्टाअघि यसको जानकारी गराएका हुन्। ‘विश्वमा खाद्य आपूर्तिका लागि यो सम्झौता धेरै महत्वपूर्ण छ। मलाई लाग्छ संयुक्त राष्ट्र संघले यसका लागि प्रयास गरिरहेको थियो’, उनले भने, ‘रुस र युक्रेनले पनि यो सम्झौतालाई अगाडि बढाउने प्रयासमा कुनै कसर बाँकी राखेनन्।’
यद्यपि अर्दोआन र संयुक्त राष्ट्र संघ दुवैले अन्न सम्झौताको नयाँ अवधि के हुनेछ भनेर अझै भनेका छैनन्।
गत वर्ष जुलाईमा संयुक्त राष्ट्र संघको मध्यस्थतामा टर्कीको सहयोगमा रुस र युक्रेनबीच अन्न सम्झौता भएको थियो। यसअन्तर्गत युक्रेनमा फसेको हजारौँ मेट्रिक टन गहुँ, मल र अन्य सामान ब्ल्याक सी हुँदै अन्य देशतर्फ लैजान लागिएको थियो।
कोभिड महामारीबाट उकालो लागेको अर्थतन्त्रमा विश्वव्यापी आपूर्ति शृंखला पनि सुधार हुन नपाउँदै रुसले युक्रेनविरुद्ध ‘विशेष सैन्य अभियान’ सुरु गरेको थियो। त्यसपछि खाद्य संकटको चिन्ता गहिरो हुन थाल्यो। किनकि विश्वको अन्नको एउटा ठूलो हिस्सा युक्रेनमा उत्पादन गरिन्छ।
युद्धका कारण युक्रेनलाई ब्ल्याक सीबाट जहाज निकाल्न गाह्रो भएको थियो। किनकि रुसले त्यहाँ आफ्ना युद्धपोत तैनाथ गरेको थियो। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago