काठमाण्डौ । एकदिन एकैपटक वा पटक पटक गरी १० लाख भन्दा बढीको सुनचाँदी, हिरा लगायत बहुमूल्य धातुको कारोबारमा आन्तरिक राजश्व विभागले कडाई गरेको छ । 

विभागले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा बहमूल्य धातु तथा वस्तुको कारोबारमा स्वच्छता एवम् पारदर्शिता कायम गर्दै सूचक संस्थाहरुको काम कारबाहीलाई थप व्यवस्थित र नियमन गर्न बाञ्छनीय भएको भन्दै त्यस्ते धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायी(सूचक संस्था)का लागि एक निर्देशन जारी गरेको हो । निर्देशनमा १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार एकदिनमा एकैपटक वा पटकपटक गर्नेको तीन पुस्ते विवरणसहितको केवाइसी अपडेट गर्नुपर्ने व्यवस्था गरिएको छ । 

निर्देशनमा सूचक संस्था भनेर बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने आयातकर्ता वितरक र थोक बिक्रेतासम्मका व्यवसायीलाई परिभाषित गरिएको छ । 

यस्तै, उच्च पदस्थ व्यक्ति, त्यस्ता व्यक्तिको परिवारका सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा प्रत्येक कारोबारमा केवाइसी अपडेट गराउनुपर्ने व्यवस्था गरिएको छ । 

आर्थिक तथा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृतिको कारोबार गर्ने ग्राहकको वृहत ग्राहक पहिचान खुल्ने कागजात तथा विवरण राख्नुपर्ने, उच्च जोखिमयुक्त नयाँ उपकरण(प्रडक्ट) वा सेवा प्रयोग गर्ने ग्राहकलाई पनि विशेष निगरानीमा राख्नुपर्ने लगायतको निर्देशन समेत विभागले व्यवसायीहरुलाई दिएको छ । 

सूचक संस्थाले व्यवसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान गर्नका लागि आवश्यक उपाय अबलम्बन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

यस्तै, सूचक संस्थाले कुनै ग्राहकले एकैपटक वा पटक पटक गरी एकदिनमा रु. १० लाख बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ । त्यस्ता संस्थाले वित्तीय जानकारी इकाईले जारी गरेको कारोबार सीमा(थ्रेस होल्ड) र शंकास्पद कारोबार सम्बन्धी निर्देशन तथा मार्गदर्शनको पालना गर्नुपर्नेछ । 

यस्तै, बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायीहरुले वार्षिक र अर्धवार्षिक प्रतिवेदन आन्तरिक राजश्व विभागलाई पठाउनुपर्नेछ । 

निर्देशनमा तोकिएको निर्देशन पालना नगर्ने सूचक संस्थामाथि लिखित रुपमा सचेत गराउनेदेखि लिएर ३ लाख रुपैयाँदेखि १ करोडसम्मको जरीवाना तथा दर्ता खारेजीसम्मको कारबाही हुने निर्देशनमा उल्लेख छ । 

जारी निर्देशनको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।