काठमाण्डौ । सरकारले कोभिड महामारीबाट प्रभावित अतिविपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरुप एकपटकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएको छ। 

उक्त राहत प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीयको सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न अर्थ मन्त्रालयले आज सूचना जारी गरी आग्रह गरेको हो। 

रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंठित क्षेत्रका मजदुर वा कामदारले राहत पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाड्लो डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटकलाई पनि उक्त राहत रकम सरकारले उपलब्ध गराउनेछ। 

कोभिड संक्रमणका कारणबाट एक घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन्।   

सरकारले एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेका परिवारलाई भने राहत वितरण गर्ने छैनन्।

परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षाबापतको भत्ता वा नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेश सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेकाहरुले पनि यो राहात रकम पाउने छैनन्।